Shittalpati
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित

गुल्मी (रिडी), जिल्लाको रुरु क्षेत्र गाउँपालिकाकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ । भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो ।

घरदैलोमा स्थानीय सरकार भन्ने मान्यतालाई आत्मसात गर्दै ६ वटै वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । पालिकाबाट हुने सेवाहरु लिन केन्द्रमा पुग्न नागरिकलाई झन्झटिलो हुनुको साथै समय र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गरिएको गाउँपालिकाका अध्यक्ष यदुज्ञवालीले बताए । गाउँपालिकाले मंसिर १६ देखि २१ गते सम्म एकिकृत घुम्ति शिविरमार्फत नागरिकलाई सेवा दिएको हो । शिविरमा गाउँपालिकाका जनप्रतिनिधी र विभिन्न शाखाका कर्मचारीहरुले  सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिरहेका छन् । देशमा संघीयता कार्यान्वयनमा आएसँगै सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने मूल नारालाई सार्थकता दिनका लागि पनि शिविरले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष ज्ञवालीले विश्वास व्यक्त गरे । उनले भने– ‘सामान्य स्वस्थ्य जाँचका लागि पनि धेरै टाढा जानु पर्ने र अन्य सेवाका लागि पालिकाको कार्यालय नै जानु पर्छ, त्यही बाध्यतालाई बुझेर जनताको स्वस्थ्य र सेवा सहजताका लागि शिविर सञ्चालन गरेका हौं ।’ जसरी भोट माग्ने बेलामा घर दैलो गरेका थियौ, त्यसै गरी सेवा प्रवाहमा पनि जनताका हरेक समस्याहरुको पहिचान गरेर समस्या समाधानमा लागेको अध्यक्ष ज्ञवालीको भनाई छ ।  

एक सातासम्म सञ्चालन भएको शिविर आज सकिदै छ ।  जहाँ एक हजार पाँच सय सेवाग्राहीले सेवा लिने गाउँपालिकाका प्रमुुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले बताए । शिविरबाट गाउँपालिकाले योजना सम्झौता, जेष्ठ नागरिक परिचयपत्र वितरण, माटो परीक्षण, व्यवसाय नविकरण, आयोजना सम्बन्धित अभिमुखिकरण, अपाङ्गता परिचय पत्र वितरण, ब्यवसाय दर्ता, औषधी वितरण, आयुर्वेद सेवा, डाक्टर सहितको टोलीबाट स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य परामर्श लगायतका सेवा प्रदान गरिरहेको छ । पालिकाले वडा तहमै पुगेर सेवा प्रवाह गर्न थालेपछि नागरिकहरु पनि खुसी भएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको सेवा लिन पुुगेकी  जेष्ठ नागरिक कमला थापाले बताईन् । शारीरिक रुपमा अशक्त रहेकी उनलाई घरमै पुगेर पालिकाका कर्मचारीको टोलीले जेष्ठ नागरिक परिचयपत्र दिएपछि उत्साहित भइन् । उनले परिचय पत्र लिनका लागि समेत पालिका जान नसकेको अवस्थामा स्थानीय सरकार आफै आएर दिएकोमा खुसी व्यक्त गरिन् । उनी जस्ता धेरैले गाउँबाटै सेवा पाएपछि उत्साहित भएका छन् । गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्न तथा नागरिकलाई सेवा प्रदानमा सहज बनाउन शिविर अभियान सञ्चालन गरी सेवा प्रवाह गरिएको प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए । उनले भने ‘गाउँपालिकामा आएर सेवा लिँदा सेवाग्राहीको समय र पैसा धेरै खर्च हुन्छ, त्यसलाई केही हदसम्म कम गर्न शिविर चलाएका हौं ।’ उनले आगामी दिनमा गाउँ टोलम पुगेर सेवा दिने समेत बताए ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update