Shittalpati
शान्तिपूर्ण रुपमा सकियो स्थानीय तह उपनिर्वाचन

पाल्पा, स्थानीय तहको उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सकिएको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।

निर्वाचन आयोगका अनुसार सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । उपनिर्वाचन भएका स्थानीय तह वा वडाको अन्तिम मतदाता नामवलीमा २  लाख २६ हजार ७  सय ९९ मतदाता रहेकोमा ६ बजेसम्मको प्राप्त विवरण अनुसार ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । २ सय ९३ मतदान केन्द्रबाट मतदाताले मत प्रकट गरेका थिए । आइतबार रातिबाट नै परिणाम आउन सुरु भएको आयोगले जनाएको छ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइट www.result.election.gov.np मा हेर्न सकिने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । 

कहाँ कहाँ भयो निर्वाचन ?
निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोर·को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्खर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन भएको  छ । यस्तै वडाध्यक्षतर्फ गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, झापाको कन्काइ नगरपालिका वडा नं ६, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८, काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा नं १, दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन भएको छ । निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update