पाल्पा, नेपालको लोकतान्त्रिक आन्दोलनको एक अभियान्ता एवं पूर्वसभामुख दमननाथ ढुंगाना ८३ वर्षको उमेरमा अस्ताएका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिएका ढुंगानाको आइतबार निधन भएको हो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको पुरानो फ्रन्टलाइन अस्पताल काठमाडौमा आइतबार दिउँसो निधन भएको थियो । शान्ति र लोकतन्त्रका पक्षपाति ढुंगानाको सोमबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिका क्रममा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उनका छोराहरुले दागबत्ती दिएका थिए । ढुंगानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न देशका विशिष्ट व्यक्तित्वहरु तथा सर्वसाधारण आर्यघाट पुगेका थिए । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख ढुंगानाको असामयिक निधनले ठूलो क्षति पुर्याएको छ । नेपालमा संसदीय अभ्यासको प्रवद्र्धन, मानव अधिकारको रक्षा र शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएका भएका स्व. ढुंगानाको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको राजनीतिक दलका शिर्ष नेताहरुले बताएका छन् । उनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैँ सम्झिराख्ने छन् । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहेका ढुंगानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरे । राजनीतिक क्षेत्रमा देखिएको विकृति र विस·तिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान तथा कानुनका ज्ञाता थिए । विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए ।
नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको योगदान छ । ‘संसदीय प्रणालीमा सरकार सत्तापक्षको हुन्छ, संसद् प्रतिपक्षको’ भन्ने सैद्धान्तिक मान्यतालाई पहिलोपल्ट नेपालको संसद्मा प्रवेश गराउने उनी पहिलो सभामुख थिए । जतिबेला उनी सभामुख थिए, पार्टीको स्वार्थभन्दा माथि उठे अनि संसदीय र संवैधानिक मूल्यमान्यताबाट दायाँबायाँ नगरी भूमिका निर्वाह गरे ।
ढुंगानाको निधनमा सार्वजनिक बिदाः पूर्वसभामुख ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको थियो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यस्तै ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने पनि सरकारले निर्णय गरेको छ । त्यसैगरी स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि सरकारले गर्यो ।
ढुंगानाप्रति पाल्पा काँग्रेसद्वारा श्रद्धाञ्जली व्यक्त
नेपाली काँग्रेसका पाल्पाले पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । एक शोक वक्तव्य जारी गर्दै ढुंगानाको निधनको खवरले पाल्पा काँग्रेसलाई स्तब्ध बनाएको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । ‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खवरले नेपाली काँंग्रेस जिल्ला कार्यसमिति पाल्पा शोक स्तब्ध भएको छ । नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दर्छौ’ जिल्ला सभापति हिमालदत्त श्रेष्ठद्वारा जारी शोक वक्तव्य भनिएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका कानुन, न्याय, राजनीति, मानवअधिकार क्षेत्रका मुर्धन्य हस्ती पूर्व सभामुख, वरिष्ठ अधिवक्ता ढुंगानाको निधनले सिंगो देशलाई नै क्षति पुगेको सभापति श्रेष्ठले उल्लेख गरेका छन् ।