पाल्पा, साता पहिलो दिन सुन–चाँदीको मूल्य घटेको छ । केही दिन अघि निरन्तर उकालो यात्रामा रहेको सुन–चाँदीको मूल्य पछिल्ला दिनहरुमा ओरालोमा यात्रामा रहेको छ । आइतबार स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार एक सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार निर्धारण भएको हो ।
अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुन १ लाख ६० हजार १ सय रुपैयँमा कारोबार भएको थियो । सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ । ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९ सय ५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ । अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा पछिल्ला केही दिन यता गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको पुनरागमनले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ । मुद्रास्फिति दवावमा रहँदा केन्द्रीय बैंक फेडले लिएको ब्याजदर कटौतीको नीतिमा पनि प्रभाव पर्न सक्नेछ । अमेरिकामा ब्याजदर घट्दै जाने अनुमानले सुनमा लगानी आकर्षित भएको थियो, तर अबका दिनमा मुद्रास्फिति बढ्न गएमा ब्याजदर घट्ने सम्भावना कमजोर हुनेछ ।