Shittalpati
तानसेन–११ का भैसीपालक किसानलाई अनुदान  

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –११ बन्दीपोखराका  भैसीपालक किसानलाई अनुदान दिइएको छ । वडा कार्यालयले भैसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान दिएको हो ।

उसले ‘भैंसी पालौं दुग्ध विक्री गरौं ! कृषिमा लागौं आत्मनिर्भर बनौं !!’ भन्ने नाराका साथ किसानलाई  अनुदान रकम हस्तान्तरण गरिएको जनाएको छ । वडाले तिलाहार गाई भैसी पालन दुग्ध उत्पादक समुहका २५ जना सदस्यहरूलाई जनही ४० हजारका दरले रूपैयाँ १० लाख रकम हस्तान्तरण गरेको हो । उक्त अनुदान रकमको चेक तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले एक औपचारिक कार्यक्रमकाबिच किसानलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले चेक रकम हस्तान्तरण गर्दै व्यवसायलाई थप विस्तार गर्न किसानलाई आग्रह गरे । उनले अनुुदान रकमले भैंसीपालनबाट दूध र दुग्धजन्य परिकारहरू उत्पादन, विक्री वितरण गरि आम्दानीको स्रोतमा समेत वृद्धि हुनेमा विश्वास लिए । नगर प्रमुुख श्रेष्ठले किसानहरुको प्रोत्साहनका लागि नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा बजेट विनियोजन गरि हाते ट्याक्टर वितरण,मौरी घार वितरण,नापतौल मेसिन हस्तान्तरण,घाँसका बिरुवा वितरण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले चालू आर्थिक वर्षमा पनि कृषकहरूको मागका आधारमा कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।

कार्यक्रममा उप–प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले वडास्तरीय भैंसी वितरण कार्यक्रमले स्थानीय कृषकहरूलाई दुध तथा दूूग्धजन्य उत्पादनतर्फ प्रोत्साहित गर्नुका साथै रोजगारी सिर्जना गर्न सहयोग गर्ने बताइन् । वडास्तरबाट वितरित अनुदानलाई सदुपयोग गरि आत्मानिर्भर हुन उनले किसानलाई आग्रह समेत गरिन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले यस्ता कार्यक्रमले कृषकहरूलाई रोजगार सिर्जना गरि आर्यआर्जनको माध्यमबाट शिक्षा,स्वास्थ्य लगाएतका क्षेत्रमा सघाई समृद्धि ल्याउने  गरी नगरपालिका लागेको उल्लेख गरे । उनले अहिले तानसेन नगरपालिकाको वडा नं ११ बाट यो कार्यक्रम शुभारम्भ गरिएको बताए ।

कार्यक्रममा तानसेन– ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य, १२ का वडा अध्यक्ष मेजरसिं केसी लगायतले अनुदानको सही उपयोग गर्न किसानलाई आग्रह गरे । ११ का वडा अध्यक्ष यादवसिं कार्कीले वडाले आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको २० प्रतिशत बजेट कृषि तथा पशुपालनमा विनियोजन गरेको बताए । वडामा कृषि र पशुपालनको सम्भावना रहेकाले यो वर्ष २५ वटा भैंसीका लागि कृषकको मागका आधारमा ४० हजारका दरले अनुदान प्रदान गरिएको उनले बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update