पाल्पा, आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । नेपालसहित विश्वभर पवगतमा जस्तै विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने दिवसको उद्देश्य रहेको छ । प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आंकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो । अर्को अर्थमा भन्दा कुनै व्यक्तिलाई चोटपटक लागेपछि वा ऊ बिरामी भएपछि अस्पताल पुर्याउनुअघि गरिने सबैभन्दा सुरुको उपचार पद्दतिलाई प्राथमिक उपचार भनिन्छ । कुनै पनि दुर्घटनामा घाइते हुनेलाई बचाउन प्राथमिक उपचारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । दिवसमा प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन लगायतका गतिविधिहरू आयोजना गर्ने गरिन्छ । नेपालमा हरेक वर्ष सयौं जनाले सडकमा हुने दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा घाइते बन्न पुगेकाहरूलाई सामान्य प्राथमिक उपचार प्रदान गर्ने हो भने पनि उसको ज्यान जोगिने सम्भावना बढेर जान्छ । सानादेखि ठूलासम्मका दुर्घटनामा घाइते हुन पुगेकालाई प्राथमिक उपचार दिने हो भने उसको ज्यान जोगाउन पनि सहज हुन्छ ।