पाल्पा, जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहान राजीनामा दिएर जसपा सरकारबाट बाहिरिएको हो ।
सरकारबाट बाहिरिएको जसपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । संघीय परिषद् अध्यक्ष अशोककुमार राईले बहुमत सांसदसहित पार्टी विभाजन गरेर बाहिरिएपछि वर्तमान सरकारमा अध्यक्ष उपेन्द्र यादव यादव अफ्ठ्यारोमा परेका थिए । पार्टी विभाजनपछि संकटमा परेका यादव मधेश सरकारमा अल्पमतमा परेपछि झन् संकटमा परे हुन् । मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएर जसपा नेतृत्वलाई अल्पमतमा पारेपछि अध्यक्ष यादव संघीय सरकारमा रहने वा बाहिरिने भन्ने विषय नैतिकतासँग जोडिएर आएको थियो । सत्ता फेरबदल गर्न सक्रिय भएको भन्दै पार्टी विभाजन भएपनि सत्तामै बसिरहेका उनी ठूलो नैतिक संकटमा फसेपछि अन्ततः सरकारबाटै बाहिरिने निर्णयमा पुुगेका हुन् । जसपाले सोमबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रतिपक्षमा बस्नेबारे पनि यादवले संसद्लाई जानकारी गराएका छन् । उक्त पत्रमा भनिएको छ,‘सरकारलाई जनता समाजवादी पार्टी, नेपालले समर्थन गरी सरकारमा समेत सहभागी रहेकोमा अब उपरान्त सरकारलाई दिइएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएकोले संसद्मा प्रतिपक्षमा नै बसी आफ्नो रचनात्मक भूमिका निर्वाह गर्ने बेहोरा जानकारीको लागि अनुरोध छ ।’ सरकारमै रहेर वर्तमान सत्ता गठबन्धनका दलसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जसपा नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आएको जनाएको छ ।
जसपाले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहाललाई चौथो पटक विश्वासको मत लिनपर्ने बाध्यता आएको छ । नेपालको संविधानको धारा १०० को उपधारा २ ले सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सरकार सहभागी नहुने (मन्त्री नबन्ने) तर, सरकारलाई दिएको समर्थन फिर्ता नलिएमा भने विश्वासको मत लिनु पर्दैन । प्रचण्डले पछिल्लो पटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत खसेको थियो । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले,माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसद (प्रभु साह, अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका हुन् ।
काँग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा, लोसपा, जनमतलगायतले मत दिएका थिएनन् । प्रचण्डले त्यसअघि २६ पुस २०७९ मा पहिलो पटक र ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई मत दिएका थिए । दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए । गत २०७९ पुस १० गते काँग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् ।