इमान सिं राना
पाल्पा (रामपुर), मगर भाषामा एउटा उखान छ, ‘पुसाङ् पाके माघाङ् ज्याके’ । जसको अर्थ हुन्छ पुस खोजेर माघमा खाने । विषेश गरी माघे संक्रान्तिमा कन्दमूलको रुपमा रहेको तरुल खाने गरिन्छ । जसका कारण बजारमा तरुलको ठूलो माग रहने गर्दछ । माघे संक्रान्तिको अवसरमा काठमाण्डौँ तथा बुटवलका बजारको माग पूर्तिका लागि पाल्पाका विभिन्न स्थानबाट पनि ठूलो परिमाणमा तरुल निर्यात हुने गरेका पाईएको छ ।
यद्यपी हाल सम्म जिल्लामा व्यवसायिक रुपमा तरुल उत्पादन हुन नसके पनि घुसुवा बालीको रुपमा परम्परागत विधीबाट लगाइएको तरुल विक्री हुँदै आएको छ । पाल्पाको निस्दी, पूर्वखोला, रम्भा संगै अन्य स्थानिय तह बाट तरुल निर्यात हुँदै आएको छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार ३० टन (३ सय क्वीन्टल) भन्दा बढी तरुल जिल्लाको विभिन्न भागमा निर्यात भएको जनाएको छ । जसमध्ये पाल्पाको निस्दी गाउँपालिकाबाट यस वर्ष पनि ठूलो परिमाणमा तरुल निर्यात भएको छ । निस्दीबाट १ सय ८८ क्वीन्टल बढी, पूर्वखोलाबाट १ सय क्वीन्टल र अन्य पालिकाबाट पनि केही मात्रामा तरुल बाहिरिएको छ । निस्दीको झिरुवास, मित्याल, गल्धा, अर्चले, ज्यामीरेका विभिन्न गाउँबाट मात्रै झण्डै १ सय ८८ क्वीन्टल तरुल संकलन गरी काठमाण्डौँ, बुटवल लगायतका बजारमा विक्री गरेको निस्दी ५ गल्धाका व्यवसायी कृष्ण रायमाझीले बताए । उनले भने ‘यस वर्ष माग अनुसारको तरुल उत्पादन राम्रो भएको थियो । तर खन्ने समयमा पानी परेकाले भण्डारणमा समस्या हुँदा राम्रो मूल्य पाउन सकिएन ।’ उनले विगतको तुलनमा निस्दीबाट यसवर्ष तरुलको उत्पादन बढेको बताए । रायमाझीले मित्याल, गल्धाको पिपल भञ्ज्याङ, ढुङ्गगानाबासी, बेलडाँडा लगायतका स्थानमा तरुल संकलन भएको थियो ।
उनले सुरुमा राम्रो मूल्य पाएपनि विचमा पानी परेकाले सरदर ७० रुपैयाँको दरले तरुल निर्यात भएको बताए । निस्दीका कृषकहरुले अदुवासंगै लगाएको तरुलबाट पनि राम्रो आम्दानी गरेका थिए । निस्दी ४ मित्यालका सन्तवीर सुनारीले ३० हजार भन्दा बढीको तरुल अदुवा बारीबाट बेच्न सफल भएको बताए । उनले व्यवसायिक रुप मै लगाउन सके तरुलबाट राम्रो आम्दानी गर्ने सकिने बताए । भिरालो जमिन, बारीको कान्लामा पनि लगाउने सकिने र अदुवा लगायत विभिन्न बालीसँग घुसुवा बालीको रुपमा लगाउन सकिने भएपनि यसको अझैसम्म व्यवसायिक रुपमा भने खेती हुन सकेको छैन । साथै तरुल खेतीको प्रवद्र्धनमा कुनै कार्यक्रम भएको छैन् । निस्दी गाउँपालिकाका कृषि शाखा नायव प्राविधिक सहायक खिमराज कोइरालाले तरुलको राम्रो उत्पादन भएपनि यस सम्बन्धी कुनै कार्यक्रम नभएको बताए । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले तरुलको व्यवसायिकतामा कृषकहरुको चासो कम पाइएको बताए । जिल्लाका विभिन्न स्थानमा घरायसी प्रयोजनको लागि तरुल उत्पादन हुँदै आएको तर व्यवसायिक रुप मै भने उत्पादन नभएको बताए । हाल घरायसी प्रयोजनका लागि लगाइएको तरुल निर्यात हुँदै आएको अर्यालले बताए ।
उनले भने, ‘हामीले राईथाने बाली संरक्षणका कार्यक्रमका लागि कृषकहरुबाट माग आÞवान गरेकाछौं । तरुल पनि त्यही कार्यक्रम अन्तर्गत पर्छ । तर अझै निवेदन परेको छैन ।’ उनले तरुल कति क्षेत्रमा लगाईन्छ र उत्पादन के कति हुन्छ भन्ने बारेमा स्थानिय तह पश्चात तथ्याङ्क संकलन नभएको बताए । तरुल माटोमुनी फल्ने जड खाद्य पदार्थ सबै कन्दमूल हो । तरुललाई तरकारीको रुपमा र उसिनेर खाने गरिन्छ । पाल्पामा हात्तीपाइले तरुल, घर तरुल, सखरखण्डहरु उत्पादन हुने गर्दछ ।