गुल्मी, “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भने, “विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ छ प्रजाति भेटिएका छन् ।”
रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमच्च महाचिल, डंगर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल तथा मदाने क्षेत्रमा गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द, डंगर गिद्दल, कस्मेरी मट्टा र काँडेभ्याकुर लगायतका दुर्लभ चरा भेटिएको उनले बताए । यी संरक्षित क्षेत्रमा नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि भेटिएको उनले जानकारी दिए । नेपालमा पाइने आठ सय ९२ प्रजातिमध्ये गुल्मीमा मात्रै ३५ प्रतिशत रहेको उनको भनाइ छ । संघको गणनाअनुसार रेसुङ्गामा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका छन् । यी दुवै क्षेत्रमा गरी विभिन्न तीन सय पाँच प्रजातिका चरा भेटिएको संघको भनाइ छ । नेपालमा मात्र पाइने काँडेभ्याकुरको संरक्षण अति आवश्यक भएको भन्दै चराको बासस्थान जोगाउन जनप्रतिनिधिको भूमिका थप महत्वपूर्ण हुने डिभिजन वन कार्यालय गुल्मीका प्रमुख जीवन पङ्गेनीको भनाइ छ ।
संघले जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ । कार्यक्रमले यी वन क्षेत्रसँग जोडिएका स्थानीयका लागि वन संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनका क्षेत्रमा लागि काम गरिरहेको छ । संस्थाले विगत छ वर्षदेखि यी दुई वन संरक्षण क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको हो । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मीलाई चरा पर्यटनको गन्तव्यका रुपमा विकासका लागि जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहवाट आवश्यक सहयोग गर्ने बताए । नेपाल पंक्षी संरक्षण संघले डढेलो, विद्युतीय प्रशारण लाइन र वन्यजन्तु एवं चराचुरुङ्गीको अवैध सिकार लगायतका समस्यालाई चरा संरक्षणको चुनौतीका रुपमा लिएको छ ।