रमेश विश्वकर्मा
गुल्मी, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रकोप व्यवस्थापन गर्नका लागि जिल्लाका स्थानीय सरकारहरुले विपद् व्यवस्थापन तथा राहत कोष स्थापना गरेका छन् । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाहरुले आ–आफ्नै तरिकाबाट कोरोना भाइस (कोभिड–१९) संक्रमणको प्रकोप व्यवस्थापन गर्नका लागि विपद् व्यवस्थापन कोष स्थापना गरेका हुन् । उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था, लघुवित्त समाजसेवीले विपद् व्यवस्थापन कोषमा राहत रकम जम्मा गर्दै आएका छन् । त्यस्तै जनप्रतिनिधि, कर्मचारी र शिक्षक लगायतले पनि राहत कोषमा रकम जम्मा गर्दै आएको पाईएको छ ।
कतिपय स्थानीय तहले बजेट विनियोज गर्दा स्थापना गरेको विपद् व्यवस्थापन कोषको रकम राहत कोषको रुपमा उपयोग गर्दै आएको बताईएको छ । कतिपय स्थानीय तहमा प्रदेश सरकारको अनुदान, पालिकाभित्रका विभिन्न योजनाहरुको रकमको रकमान्तर, सम्झौता नभएका रकमको रकमान्तर लगायतका शिर्षकबाट रकम संकलन भएको बताईएको छ । जसबाट निम्न वर्गका समुदाय, मजदुर लगायतका अति विपन्न परिवारलाई राहत वितरण तथा कोरोना भाइरसको संक्रमण हुन नदिने क्रियाकलाप, संक्रमण फैलिएमा हुन सक्ने जोखिम कम गर्न, औषधि उपचारका लागि सहयोग पुग्ने स्थानीय तहहरुले बताएका छन् ।
रेसुङ्गा नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा अहिलेसम्म ५० लाख ४३ हजार १ सय ८७ राहत रकम संकलन भएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको ४५ लाख २० हजार रकमान्तर गरिएको छ । नगरप्रमुख डिल्लिराज भुसालले ४० हजार र उप–प्रमुख सिता भण्डारीले ३० हजार जम्मा गरेका छन् । कर्मचारीले १ लाख ८७ हजार १ सय ८३ सहयोग गरेका छन् । त्यस्तै समाजसेवी नन्दराम भुसालले एक लाख एक हजार, उद्योग बाणिज्य संघले एक लाख, मैत्री सहकारीले ४५ हजार, आधिँखोला लघुवित्त संस्थाले १० हजार विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरेको प्रमुख प्रशासकिय अधिकृत मरासिनी बताए ।
इस्मा गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा अहिलेसम्म एक करोडभन्दा बढी रकम संकलन भएको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । उनका अनुसार सबै जनप्रतिनिधिले एक/एक महिनाको तलब, कर्मचारी, शिक्षक लगायतबाट पनि केहि दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । काम हुन नसकेका विभिन्न योजनाको रकम पनि रकमान्तर गरेर राहत कोषमा जम्मा गरिएको उपाध्यक्ष बिमला खत्रीले बताईन् । गाउँपालिकाको राहत कोषमा प्रदेश सरकारको १० लाख अनुदान सहित कुल एक करोड १५ लाख भन्दा बढी संकलन भएको छ ।
धुर्कोट गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा अहिलेसम्म ६८ लाखभन्दा बढी रकम संकलन भएको गाउँपालिका उपाध्यक्ष शिव खत्रीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबाट एक/एक महिनाको तलब, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुबाट १५ दिनको तलब, अधिकृत स्तरका कर्मचारीबाट पाचँ दिन, सहायक स्तरका कर्मचारीबाट तीन दिन तथा शिक्षकहरुबाट दुई दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । अहिलेसम्म १२ हजार भन्दा बढीको खाद्यान्न संकलन भइसकेको उपाध्यक्ष खत्रीले बताए । मालिका गाउँपालिकाले स्थपाना गरेको विपद् व्यवस्थापन कोषमा अहिलेसम्म ६० लाख जम्मा भएको प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले जानकारी दिए । उनका अनुसार सबै जनप्रतिनिधिको दुई/दुई महिना, कर्मचारीको तीन दिन र शिक्षकको दुई दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । त्यस्तै गाउँपालिका भित्रका विभिन्न योजनाहरुको ५० लाख राहत कोषमा जम्मा गरिएको छ । गाउँपालिकाले अन्य व्यक्ति तथा संघ संस्थाबाट पनि सहयोगको आह्वान गरेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए ।
रुरुक्षेत्र गाउँपालिकाले अहिलेसम्म ३१ लाखभन्दा बढी रकम संकलन भएको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले विपद् कोषमा रहेको ३० लाख कोरोना राहत कोषमा राखेको छ । रुरुस्थित निर्माण व्यवसायिबाट एक लाख तथा नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाबाट ५१ हजार गाउँपालिकालाई प्राप्त भएको, रुरुस्थित प्रभु बैंक र रुरु फ्रेन्ड क्वलबाट ८० हजार बराबरको खाद्यान्न प्राप्त भएको छ । जनप्रतिनिधि र कर्मचारीले पनि उक्त कोषमा आफ्नो तलब सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए । मदाने गाउँपालिकाको राहत कोषमा ६० लाख जम्मा भएको प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारी जानकारी दिए । उनले अहिले स्थानीय तहलाई राहत वितरणमा भ्याइनभ्याई भएको बताए ।
व्यक्तिगत सुरक्षा सामग्री, ग्लोब, माक्स, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री पनि स्थानीय तहले नै खरिद गर्नुपर्ने भएकोले स्थानीय तहमा राहत कोषमा संकलन भएको रकम उक्त कार्यहरुमा खर्च गरिने प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । त्यस्तै उनले आवश्यक स्वास्थ्य सामग्री तथा खाद्यान्न खरिद लगायतका कार्यमा राहत कोषको रकमबाट खर्च गरिने बताए । अलपत्र मजदुरको उद्धार, क्वारेन्टाइन र तिनमा बसेकाहरुको व्यवस्थापन लगायतका कार्यको लागि आवश्यक रकम राहत कोषबाट परिचालित गरिने बताए ।
चन्द्रकोट गाउँपालिकाको राहत कोषमा ४० लाख ५० हजारको विपद् व्यवस्थापन कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म गाउँपालिकाले ७ सय भन्दा बढिलाई राहत वितरण गरेको छ । त्यस्तै उनले जनप्रतिनिधिले पहिले पाएको सुविधाबाट १५ दिन बराबरको रकम राहत कोषमा जम्मा गर्ने बताए । त्यस्तै कर्मचारी अधिकृत स्तरको ५ दिन र सहायक स्तरको ३ दिनको तलब पनि राहत कोषमा जम्मा गरिने बताए । शिक्षकहरुको पनि केहि दिनको तलब राहत कोषमा जम्मा गरिने छ । उक्त कोषमा नेपाली काँग्रेस चन्द्रकोट गाउँपालिकाले पनि ५१ हजार १ सय १५ रुपैयाँ जम्मा गरेको छ । उक्त गाउँपालिको स्थापना गरेको कोषमा विभिन्न संस्था, समाजसेवी लगायतले सहयोग गर्दै आएका छन् ।
मुसिकोट नगरपालिकाले विपद् व्यवस्थापन कोषमा १ करोड संकलन गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले जानकारी दिए । उनका अनुसार विभिन्न योजनाहरुको रकम रकमान्तर गरि कोषमा जम्मा गर्ने तयारी भैरहेको छ । अहिलेसम्म बाहिरबाट ३० हजार जति सहयोग आएको बताईएको छ । सत्यवति गाउँपालिकामा पहिले नै स्थपना गरिएको विपद् व्यवस्थापन कोषबाट अहिले काम भैरहेका गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । उनका अनुसार १२ लाख बराबरको खाद्यन्न सामाग्री ल्याएर वितरण गरिएको छ । जनप्रतिनिधि, कर्मचारी सबैले विपद् व्यवस्थापन कोषमा केही दिनको तलब सुविधा जम्मा गर्ने निर्ण गरिएको अध्यक्ष ढकालले बताए । उनले गाउँपालिका भित्र १० हजार माक्स सिलाएर वितरण गरिएको बताए । ६ लाख बराबरको औषधि ६ सय जना दिर्घरोगीहरुलाई स्वास्थ्य स्वयंसेवीक मार्फत उनिहरुका घरमै पुर् याईदिएको बताए । यो नै जिल्लामै उत्कृष्ट काम भएको अध्यक्ष ढकालको दाबी छ ।
गुल्मीदरबार गाउँपालिकाले विपद् व्यवस्थापन तथा राहत कोषका लागि ४० लाख रुपैंया जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार १६ हजार बराबरको जिन्सी सामाग्री गाउँपालिकालाई प्राप्त भएको छ । जनप्रतिनिधिको १५ दिनको तलब सुविधा राहत कोषमा जम्मा गरिने भएको छ । त्यस्तै कर्मचारी अधिकृत स्तरको ५ दिनको तलब, सहाय स्तरको ४ दिन र शिक्षकहरुको ३ दिनको तलब राहत कोषमा जम्मा गरिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताए । छत्रकोट गाउँपालिकाले विपद् व्यवस्थापन तथा राहत कोषका लागि २० लाख जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिए । उनका अनुसार अहिले कोषमा कर्मचारी र बाहिरी दाताहरुको सहयोगमा ३ ललाख ३६ हजार जम्मा भएको छ । अहिलेसम्म गाउँपालिकाले ८ सय १५ घरका निम्न वर्गका समुदाय, मजदुर लगायतका अति विपन्न परिवारलाई राहत वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत पन्थले बताए । कालीगण्डकी गाउँपालिकामा पहिले नै विपद् व्यवस्थापन कोष स्थापना गरिएको थियो त्यसैबाट काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्लीले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा बाहिरबाट कुनै पनि सहयोग भएको छैन । नेपाल सरकारले तोके अनुसार कर्मचारीहरुले विपद् व्यवस्थापन कोषमा राहत रकम जम्मा गर्ने प्रमुख प्रशासकिय अधिकृत पल्लीले बताए ।