Shittalpati
लोक बाजा संरक्षण गर

पछिल्लो समय नेपाली समाजमा लोक बाजा हराउँदै गएका छन् । हरेक चाडपर्व र उत्सवमा बजाइने पञ्चेबाजा हिजो आज निकै कम मात्रमा सुनिन थालेका छन् । आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढ्दा ति मौलिकता खुम्चिँदै गएका हुन् । नयाँ पुस्तामा पञ्चेबाजाप्रति रूचि हराउँदै गएको छ । परम्परागत बाजा बजाउनेहरू व्यवसायिक बन्न नसक्दा बाजा नै लोप हुने अवस्थामा पुगेका छन् । केही समयअघिसम्म पञ्चेबाजा भन्ने बित्तिकै बालबालिकादेखि वृद्धवृद्धा सबै हुरुक्कै हुन्थे । तर आज भोलि भने बढ्दो आधुनिकताले पञ्चेबाजा ओझेलमा परेका छन् । नेपाली समाजमा हुने विवाह, व्रतबन्ध लगायत विभिन्न चाडबाड, जात्रा–उत्सव, मेला–महोत्सव, सभा–समारोहमा पञ्चेबाजा बजाउने गरिन्थ्यो तर यी बाजा पुस्तान्तरण नहुँदा लोप भएर एकादेशका कथा बन्ने संकेत देखिएको छ ।

हाम्रा पुराना र मौलिक लोक बाजा हराउनुको साथै बजाउने मान्छेको समेत अभाव देखिएको छ । यस्तो हुनु चिन्ताको विषय हो । लोक बाजा संरक्षण गर्ने दायित्व स्थानीय, प्रदेश र संघीय सरकार हो तर यसतर्फ तिनै तहका सरकारले ध्यान दिएको देखिदैन । बेला मौकामा राजनीतिक दलका नेता र जनप्रतिनिधिहरुले भाषणमा लोक बाजाको संरक्षणको कुरा गरे पनि व्यवहारमा त्यो लागु हुन सकेको छैन । आधुनिक बाजा प्रयोगले मौलिक नेपाली बाजा छायाँमा पर्दै गएको छ । पञ्चे बाजामा सहनाई, नर्सिंगा, ट्याम्को दमाहा, मुजुरालगायत नौवटा बाजा प्रयोग हुन्छ । ठाउँअनुसार नेपालको मौलिकता झल्काउने बाजा पनि फरक–फरक छन । कुनै ठाउँमा पञ्चेबाजामा नर्सिंगा प्रयोग होला त कतै कर्नाल । जहाँ जुन किसिमका बाजा प्रयोग भएपनि मौलिक बाजाहरू ‘अल्पमत’मा परेको यथार्थ जगजाहेरै छ । मौलिक बाजा हराउँदै जानुको पहिलो कारण त बाजाप्रति युवापुस्ताको मोहभंग हुनु हो भने दोस्रो कारण अहिले पनि हाम्रो समाजमा बाजा बजाउनेलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्याख्या गर्ने प्रवृत्ति छ । यो गलत हो । कुनै समय एउटा मात्रै जातका मान्छेले बजाउने बाजामा अहिले सबै समुदाय सहभागी भएपनि समाजको हेराइमा अझै परिवर्तन आउन सकेको छैन । कतिपय ठाउँमा बाजा बजाउनेलाई उचित पारिश्रमिक दिए पनि केही ठाउँमा श्रमअनुसार पारिश्रमिक दिने प्रवृत्तिको विकास अझै भइसकेको छैन । यसले गर्दा पनि लोक बाजा हराउने अवस्थामा आइपुुगेको हो । यसर्थ मौलिक लोक बाजाहरुलाई जोगाई राख्न अब स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकारले समेत उचित कदम चाल्न जरुरी छ ।  

प्रकाशित मिति: बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update