पितृदेवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिने चलन छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनि शास्त्रहरुले स्पष्ट किटान गरेका छन् । कर्म दिने बुबालाई भगवानसरह मान्नुुपर्ने धर्मसशास्त्रहरुमा उल्लेख छ । बुुवाको सम्मानमा हरेक वर्ष केही न केही दिवस र पर्व पर्छन् । हरेक वर्षको भाद्र कृष्ण पक्षमा कसुे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन, जुन १ तारिखमा विश्व बुवाआमा दिवस र जुन महिनाको तेस्रो आइतबार अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने गरिन्छ । आज पनि बुुवाकै सम्मानमा अन्तर्राष्ट्रिय बुवा दिवस मनाइँदै छ । भारतमा बेलायती शासकहरूको शासन सुरुवात पछिका दिनमा नै जुन महिनाको तेस्रो आइतबार बुवाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो ।
क्रमशः यसै चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरिदिए र आज नेपालसहित विश्वभर नै यो दिवस मनाउने चलन स्थापित भएको छ । यस दिन बुुवाको सम्मान गरिन्छ । यो दिवस आफैमा राम्रो छ । आफूलाई जन्म दिई हुर्काइ, पढाई सक्षम बनाउने बुवालाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको कर्तव्य हो । पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बुुवालाई भेट्न पुुग्छन् । यसलाई सकारात्मक रुपमा लिएपनि एक दिन मात्र गरिएको सम्मानले पिताप्रतिको सच्चा सम्मान भने हुन सक्दैन ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेका हामीमध्ये धेरै छौँ । ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवालाई शायद शब्दले व्याख्या गर्न सकिन्न । पिताको सेवा र सम्मान गर्दा जतिको पुण्य कुनै यज्ञबाट सम्भव छैन । बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ भन्ने कुरा कुनै पनि सन्तानले विर्सनु हुँदैन । उपभोक्तावादी संस्कृति विकसित हुँदै गर्दा बुबाआमाले भनेको मान्नु नपर्ने, उमेर पुगेका छोराछोरी भिन्नै बस्ने, आमाबुबालाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने परम्परा विकसित भइरहेको छ । यो आफैमा गलत र दुखद् हो । यसो हुनु हुँदैन । सनातन संस्कृति अवलम्बन गर्ने हो भने पिता वर्ष दिनभरि नै पुजनीय हुन्छन् । दर्शनीय हुन्छन् । धर्तीमा ल्याउने, लालनपालन गर्ने, शिक्षा–संस्कार दिने पितालाई अपमानित गर्नेको कहिल्यै भलो हुँदैन् । सनातन धर्मको निर्देश छ,‘पितृदेवो भव’ अर्थात् पितालाई देवतासरह मान ।