Shittalpati
रगत अभावमा कोही मर्न नपरोस्

विश्व रक्तदाता दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौं’ भन्ने नाराका साथ दिवस मनाइएको छ । नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ । तर विडम्बना वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन ।

नेपालमा कूल जनसंख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ । त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन । रक्तदातामध्ये करिब १७ प्रतिशत महिला छन् र पुरुष ८३ प्रतिशत रहेका छन् । रक्तदान गर्दा दुर्वल वा कमजोर भइन्छ, अनेक रोग सर्छ र गरिरहेको काममा ह्रास आउँछ भन्ने गलत सोचका कारण पनि रक्तदान गर्न योग्य व्यक्तिहरु हिच्किचाउने गर्दछन् । रक्तदान गर्नाले अरूको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्ति स्वयम्को शरीरसमेत स्वस्थ रहन्छ भन्ने जानकारीको अभाव रहेको छ । यस्तो अवस्थामा रगत बारे सबै वर्ग र क्षेत्रका मानिसमा सचेतना जगाउनु आवश्यक छ । पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ ।

दैनिक रुपमा अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको संख्या बढ्दो छ । तर मागअनुसार आपूर्ति भने निकै कम छ । यसले गर्दा आममानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । दिनहुँ बढ्दै गइरहेको दुर्घटना तथा प्राकृतिक विपद् लगायतका कारणले रगतको मागमा अत्यधिक वृद्धि भइरहेको छ । तर रगत आपुुर्ति गर्ने दिशामा भने कसैको पनि चासो छैन् । चोटपटक लागेका बिरामी, दुर्घटनामा परेका व्यक्ति, आपत्कालीन एवं प्रकोपका बेला, उन्नत शल्यप्रक्रियामा रहेका बिरामीहरू आदिलाई रगत आवश्यक पर्दछ । तिनीहरुलाई तत्काल रगत उपलब्ध गराउन सकियो भने  धेरै मानिसको ज्यान बचाउन सकिन्छ । यसर्थ रक्तदान गर्न उत्प्रेरित गर्ने र रक्तदाताहरुलाई उचित किसिमले प्रोत्साहन गर्न सकियो भने रगत अभावमा कोही पनि मर्न पर्दैन । यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update