राजनैतिक चरित्रलाई पारदर्शी र सुपरफाइन बनाउनका लागि अब मुलुकका ठूला दलहरुले नयाँ रणनैतिक योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । यसका लागि युवापुस्ता र अगुवाहरु बीचको अन्तर सम्बन्धलाई तारतम्य बनाएर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन । पाकापुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई फ्युजनका रुपमा अगाडि नबढाएसम्म पुराना दलहरु छायामा पर्ने निश्चित प्रायः जस्तै देखिन्छ । नेपाली काँग्रेस, एमाले र माओवादीहरु अबका दिनमा अत्यान्तै सुझ र बुझका साथ अगाडि बढ्नुको कुनै पनि विकल्प देखिदैन । विकासका काम गरेर मात्रै पनि पुग्दैन, समयसापेक्ष अन्तरमनका साथ नागरिकका हरेक अवयवहरुका विषयमा पहिचान गरेर संगठनलाई मजबुत बनाउँदै लगे मात्र मुलुकले नयाँदीशावोध गर्न सक्छ । अन्यथा खाली पुरानो र ऐतिहासिकता भजाएर खोने मात्रले मुलुक चल्दैन । युवाहरु अधिकतम विदेशिएका छन् । उनीहरु मुलुकको परिवर्तनलाई उपलब्धी मान्दछन् । उनीहरुको नजरमा विदेश जस्तै मुलुक पनि होस् भन्ने चहाना छ ।
सिमित श्रोत र साधनले गर्दा जुनरुपमा विकास हुनुपर्ने हो त्यो त्यसरी हुने अवस्था देखिदैन । त्यसकारण उनीहरुका कमाईबाट आश्रित नेपाली मतदातालाई उनीहरुले दिने सल्लाह र सुझावको परिपालना हुँदा मुलुकले ऐतिहासिकता बिर्सने बाहेक केही पनि हुन सकेको नसकेको यथार्थतालाई आत्मसात गर्न नसक्नु पनि अर्को समस्या भएको बुझिन्छ । महिला र वृद्धवृद्धाको निर्णय क्षमतामा ह्रास भएको कुरालाई इतिहास बोकेका पार्टीहरुले कम बुझे । दाई र भाउजु वा र कमरेड अनि नालापानी र कालापानीका गफले मुलुक बन्ने अवस्था रहेन । त्यसकारण युवा र अगुवाहरु बीचको विचार अनि अनुभवलाई मिश्रित गरेर अगाडि बढ्ने खालका कार्ययोजना निर्माण गर्नुपर्ने बेला आएको छ । विकास बाटाघाटाले मात्रै पुग्दैन । मानसिकताको पनि विकास हुन जरुरी छ । पुरातन सोंचले पुग्दैन, नविन र युग सुहाउँदा सोंच र क्रियाकलापको आवश्यकता देखियो । सेवालाई प्रविधिसँगै लग्ने र कार्यसम्पादनलाई वैज्ञानिक मूल्याङ्कन गर्ने परिपार्टीको विकास जरुरी छ । अनि बल्ल नेपाली र नेपालको समग्र विकासले गति लिन सक्छ ।