रामपुर, कोभिड–१९ बाट बच्न जारी गरिएको लकडाउनको समय सदुपयोग गर्दै रामपुर नगरपालिकाका महिला झिनियाँ उत्पादनमा व्यस्त छन् । रामपुर ४ सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठले लकडाउन शुरु भए यता ३० क्वीन्टल चामलको झिनियाँ तयार गरिसकेका छन् । झिनियाँ बनाउँदै गर्दा दिन बितेको उनलाई पत्तो छैन । ‘बिहानदेखि साँझ आँखाले ठम्याउँदासम्म झिनियाँ बनाउँछु, लकडाउनको समयमा कसरी दिन कटाउने हो भन्नु परेको छैन, काममै व्यस्त छु’, श्रेष्ठले भने । चार वर्षदेखि सो व्यवसायमा आबद्ध श्रेष्ठ वर्षमा झिनियाँ उत्पादनबाट खर्च कटाएर तीन लाख रुपैयाँ आम्दानी गर्छिन् । राम्रो कमाइ हुने भएपछि उनले चार जनालाई रोजगारी दिएकी छिन् । लकडाउनको समयमा भने कामदारलाई सुरक्षित साथ रहन घर पठाइएको उनले बताइन् ।
रामपुर–५ राङ्गभाङ्ग बस्ने मैयाँ श्रेष्ठको पनि दैनिकी झिनियाँ बनाउँदैमा बितेको छ । लकडाउन समययता उनले हालसम्म सात क्वीन्टल झिनियाँ उत्पादन गरिसकिन् तर बजारमा खपत गर्ने वातावरण छैन । ‘हातमा सीप भएपछि घरभित्रै बसेर आयआर्जन गर्न सकिन्छ, लकडाउनको समयमा झिनियाँ बनाउने र पछि खुलेको समयमा बजारमा विक्री गर्ने हो’, उनले भने । श्रेष्ठले बन्दाबन्दीको समययता ६० हजार रुपैयाँको झिनियाँ उत्पादन गरे । उनी यो व्यवसायमा लागेको अढाइ दशक बितिसकेको छ । हातमा सीप भएकालाई लकडाउन, बन्द हड्ताल जुनसुकै अवस्था आएपनि खाली बस्नु नपर्ने उनको अनुभव छ ।
लकडाउनको पालना गरी हातमा सीप भएका महिलाले घरभित्रै बसी झिनियाँ बनाएर भण्डारण गरी राखेका छन् । झट्ट नबिग्रने एक वर्षसम्म यसलाई प्रयोगमा ल्याउन सकिन्छ । यहाँ उत्पादित झिनियाँको आकार अनुसार प्रतिदर्जन ४० रुपैयाँदेखि एक सयमा विक्री हुने गरेको व्यापारी बताउँछन् । चामलको पिठोलाई पकाएर यन्त्रको सहायताले झिनियाँ बनाई सुकाएर तयार गरिन्छ । पहिले तिहारमा मात्र बनाइने झिनियाँ हिजोआज भने विवाह, व्रतबन्ध, पूजाआजा तथा विशेष पर्वमा व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियाँलाई लिइन्छ । तिहारमा दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ रोटी दिने प्रचलन छ । -रासस