विश्व वातावरण दिवस एक अन्तर्राष्ट्रिय दिवस हो । यो हरेक वर्षको ५ जुनमा मनाउने गरिन्छ । १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरण सम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस विश्वमा मनाइने सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो । जसले मानिसहरूमा वातावरणीय चेतनालाई उजागर गर्ने कार्य गर्छ । यसको मुख्य उद्देश्य हाम्रो प्रकृतिलाई सुरक्षित राख्न जागरुकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु हो ।
नेपालमा पनि हरेक वर्ष विभिन्न सचेतनामूूलक कार्यक्रमहरु गरी यो दिवस मनाइन्छ । तर पछिल्लो समय नेपालमा वातावरणीय विनाश दिन प्रतिदिन बढिरहेको छ । यो अत्यन्त दुुखको कुरा हो । बढ्दो जनसंख्याको कारण भएको अव्यवस्थित सहरीकरण, विभिन्न पूर्वाधारहरूको निर्माण, बढ्दो मात्रामा यातायातका साधनहरूको प्रयोग, विभिन्न रासायनिक पदार्थहरूको प्रयोगले गर्दा वातावरण दिन प्रतिदिन प्रदुषण हुने गरेको छ । नेपालमा जल, वायु, भूमि प्रदूषणको साथै दृश्य प्रदुषण पनि बढेको छ । मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू हुुन् । वास्तवमा वातावरणीय विनाशको कारणले मरुभूमीकरण वर्षा, ओजोन तह नष्ट, बाढी पहिरो र हरित गृह प्रभाव बढ्ने क्रममा छ । वातावरण विनासले जलवायु परिवर्तनको असर समेत देखापरेको अवस्था छ । जलवायु परिवर्तनका कारण आम मानिसको जीवनमा समेत असर पु¥याउन थालिकेको छ । वातावरणलाई स्वच्छ र सफा बनाउने दिशामा समयमै सोचिएन भने यसले विकराल रुप लिन सक्ने देखिन्छ । यसतर्फ सबैले ध्यान दिन आवश्यक छ । वातावरणको सिर्जना पृथ्वीमा रहेका जीवजगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भएपनि यसको संरक्षणमा मानव जातिको महत्वपूर्ण भूमिका हुन्छ । तसर्थ वातावरण स्वच्छ राख्ने काममा सबैले ध्यान दिन सके मात्र यो दिवस मनाउनुुले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औपचारिकतामै सिमित रहन्छ ।