नीति तथा कार्यक्रमका विषयमा अहिले चर्चा परिचर्चा चलिरहेको छ । प्रतिपक्षी दलले नीति तथा कार्यक्रम ठीक नभएको भन्दै विरोध जनाइरहेका छन् । सत्ता साझेदार पार्टीहरु भने यो कार्यक्रमले मुलुकको मुहार फेर्ने कुरामा जोड दिइरहेका छन् ।
अगामी वर्षका लागि ल्याएको नीति र कार्यक्रमले सरकारका हरेक जनपक्षीय अवधारणाहरुलाई मुखरित गर्ने खालका कार्यक्रमलाई नीति र कार्यक्रमको महत्वपूर्ण अंगका रुपमा मानिरहदा प्रमुख प्रतिपक्ष एमाले भने यो कार्यक्रम मुलुकले थेग्न सक्ने खालको नभएकोले यसलाई पूर्णरुपमा पुनरावलोकन गर्नुपर्ने माग गरी नै रहेको पाइन्छ । कुनै पनि सरकारका नीति र कार्यक्रमलाई आधार मानेर त्यसको कार्यान्वयनमा ध्यान दिन त्यही किसिमको बजेटको पनि व्यवस्था गर्ने प्रचलन हुन्छ । त्यस कारण बजेटका आधारशीलाहरुको एउटा महत्वपूर्ण खण्ड भनेकै नीति र कार्यक्रम हो । यी सबै कुरामा विरोधका लागि विरोध गर्ने प्रचलनले प्राथकिता पाइरहनु आफैमा पनि राम्रो विषय होइन । प्रतिपक्ष सकारात्मक विरोध र सकारात्मक सुझावका लागि आवश्यक आधारशीला भएको कुरालाई मुलुकका प्रतिपक्षहरुले बुझ्न जरुरी छ ।
लोकतन्त्रमा विरोधका लागि विरोध भन्दा पनि, विकार निकासका लागि सकारात्मक सुझावको सही व्यवस्थापन गर्नु नै उत्तम विकल्प पनि हो । सरकारले जनताका पक्षमा अब के गर्ने, मुलुकलाई विकासका कुन–कुन बाटाहरुको पहिचानका साथ अगाडि बढ्ने भन्ने मूल अवधारणाको विकास गर्दै अगाडि बढ्ने कुरामा दिशा निर्देश गर्ने नीति र कार्यक्रमले हो । त्यो गर्ने कार्यमा प्रस्तुत नीति र कार्यक्रम प्रभावकारी हुन सक्छ या सक्दैन भन्ने काम कार्यवाही बारे सरकाले प्रतिपक्षसंग पनि सकारात्मक र समन्वयकारी भूमिकाका आधारभूत मूल्य र मान्यतालाई बुझ्न जरुरी छ । त्यसकारण पनि सरकारका हरेक नीति र कार्यक्रम अनि बजेट कार्यान्वयनमुखी बनाउने कामलाई महत्वका साथ हेरिनुपर्ने हुन्छ । यस्ता कार्यक्रमहरुलाई सफल पार्न कस्तो बजेट आवश्यक छ भन्ने विषयमा सबै पक्ष गम्भीर हुनुको विकल्प छैन ।