Shittalpati
मदन भण्डारीलाई सम्झिनुको सार्थकता

नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव एवं जननेता मदन भण्डारीको ३० औं स्मृति दिवस विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्य गरी बुधबार देशभरी मनाइएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएका भण्डारीको हरेक वर्ष जेठ ३ गते सम्झिन्छ । विशेष गरी एमालेले यस दिन उनको सम्झनामा विभिन्न कार्यक्रम गर्ने गर्दछ । यो वर्ष पनि नेकपा (एमाले) केन्द्रदेखि स्थानीय तहसम्म मदन भण्डारीको सम्झनामा कार्यक्रम गर्‍यो । कम्युनिष्ट आन्दोलनलाई सहीदिशातर्फ उन्मुख गराउन देशीविदेशी प्रतिक्रियावादी तत्वहरूसँग मुकाबिला गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्ने भण्डारीलाई यस अर्थमा पनि कम्युनिष्ट आन्दोलनको प्रणेताका रूपमा लिने गरिन्छ । मृत्यु भएको तीन दशक पुग्न लाग्दा पनि नेपाली राजनीतिमा उनी सर्वाधिक सम्झना गरिने नेपाली नेताहरूमा पर्छन् । आफ्नो सक्रिय राजनीतिक जीवनकालमा मात्र होइन, मृत्युपछि पनि उनीबाट प्रतिपादित विचार तथा मान्यताले नेपाली राजनीतिलाई निरन्तर रूपमा प्रभावित गरिरहेका छन् ।
आज पनि नेपाली राजनीतिका संकटपूर्ण क्षणमा मानिसहरू उनलाई सम्झन्छन् । भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को कार्यक्रम नेपालको राजनीतिलाई नयाँ दिशा प्रदान गर्ने मौलिक र नवीनतम विचार दिने काम गरेका थिए । यो विचार अहिले पनि उत्तिकै महत्वपूूर्ण मानिन्छ । आज नेपाली राजनीति मूलतः जनताको बहुदलीय जनवादको सैद्धान्तिक र नीतिगत मान्यताबाट निर्देशित र प्रभावित हुने गरेको छ । तर पनि विचार र सिद्धान्तलाई न पार्टीले आत्मसाथ गरेको छ न त अन्य दलहरुले नै । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने कुरामा समेत जबजका नीति तथा मान्यताहरूको महत्वपूर्ण योगदान रहेको छ । यसको सबै राजनीतिक दलहरुले अनुुसरण गर्नु पर्ने हुुन्छ । भण्डारीले रोपेको कम्युनिष्ट आन्दोलनको बीउ आज कम्युनिष्ट आन्दोलनको प्रेरणाको साच्चै नै स्रोत बनेको छ । उनले दिएको समाजको चरित्र चित्रण हाम्रो अग्रगतिको वाहक बनेको छ । त्यही उनले अगाडि सारेको मान्यतामा अडिग भई उनका योगदान र विचारलाई सिर्जनात्मक ढंगले प्रयोग गर्न सके मात्र साँचो अर्थमा भण्डारीलाई सम्झनुको, स्मृति दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update