१७ वर्ष अगाडि अर्थात् २०६३ साल वैशाख ११ गते मुलुकमा लोकतन्त्र ल्याइएको दिन हो । युग परिवर्तनको नारा लागेको र हरेक जनताले आफू विजयी भएको स्मरण गर्ने विशेष दिनका रुपमा यो दिनलाई लिने गरिन्छ । नेपालमा २४० वर्षे जहाँनिया शासनको अन्त्य भई नयाँ नयाँ युगको सुरुवात भएको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवस मनाईन्छ । आज देशभर १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मुलुकले यस अवधिमा धेरै आरोह अवरोह पार गरेको छ । राजसंस्थाको अन्त्य गरी जनताको प्रत्यक्ष शासन सञ्चालन हुँदै आएको छ । तर लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि नागरिकको आधारभूत आवश्यकता परिपूर्ति हुन सकेको छैनन् । यो अत्यन्त दुःखको कुरा हो । यसबीचमा नेपाली काँग्रेस, एमालेदेखि एमाओवादी नेतृत्वका सरकारहरू बने, मधेसवादी दलदेखि विभिन्न पार्टी ती सरकारमा सहभागी भए । जसले सरकार चलाए पनि जनताले भने लोकतन्त्रको अनुभूत गर्न सकेका छैनन् । लोकतान्त्रिक व्यवस्थामा विकास, लोकतन्त्र/गणतन्त्रका अनेकौं विषय र सवालमा बहसहरू भए/भइरहेका छन् । तर, ती बहसले लोकतन्त्र÷गणतन्त्रलाई संस्थागत गर्न उपयुक्त बाटो पहिल्याउन नसक्नु विडम्वना हो ।
लोकतन्त्रले त जनताका पीरमर्कालाई नजिकबाट आत्मसात् गर्नसक्नुपर्छ । अहिले मुलुकमा तीन तहको सरकार छ । तर पनि आमनागरिकले समृद्धि र विकासको वास्तविक अनुभूति गर्न सकेका छैनन् । हाल लोकतान्त्रिक नेपालले धेरै विषयमा फड्को मारेको भनिए पनि जनता सुरक्षित हुन सकेका छैनन् । नाना, खाना, छाना, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी लोकतन्त्रले गर्नै सकेन । मुलुकको संरचना संघीय शासन प्रणालीमा रह्यो तर संघीयता र खर्चिलो लोकतन्त्र जनताले धान्नै सकेनन् । विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धति छ । जनतालाई सार्वभौम गराइनुपर्छ तर बोलीले मात्रै होइन व्यवहारत हुनुपर्छ । नेताहरूको सिद्धान्त र व्यवहारमा आकाश जमिनको फरक देखियो । भनियो एकथरी, गरियो अर्कै । स्थिरता छैन, मानवमा चित्कार छ, कुण्ठा, बेमेल, विसंगति र बेचैनी अनि बेरोजगारी छ, बेवास्ता त छँदैछ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ । राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ, राजनीति हावी छ सबैतिर, अनि सबैतिर भागबण्डा छ, सबैतिर राजनैतिक रोजगारी छ । दलमा नमिसिएकाहरूलाई कुनै ठाउँ छैन । सबैलाई नेता नै बन्नु पर्ने हतार छ, नैतिकताको रटान व्यर्थ सावित भएको छ । यसले लोकतन्त्र होइन, लुटतन्त्रको आभास जनताले गरेका छन् । यसो हुनु हुँदैन थियो । संघर्ष गरेर ल्याइएको लोकतन्त्रको उपहास गर्नु दुख हो । राजनीतिक दलका नेताहरुले आजको दिनमा आफूलाई जनताका सेवक ठानेर जनताका अपेक्षा पूरा गरेर देशलाई गति दिन्छौं भनेर प्रण गर्न जरुरी छ ।