वालिङ, स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा भए । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर उनले जीविकोपार्जन गर्दै आएका छन् । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उनले आफ्नै बाबुबाजेहरुहरुबाट सिके । आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास, थाल लगायत सामग्रीहरु उनले निर्माण गर्दै आएका छन् ।
आधुनिक यन्त्र उपकरण, औजारहरु भित्रिएता पनि कामीले पुरानै शैलीका साँचो र लोताको प्रयोग गरेर सामग्री उत्पादन गर्छन् । आधुनिक औजारले सहज हुनाका साथै थोरै जनशक्तिबाट पनि छिटो काम सकिन्छ तर उनी पुरानै औजारहरुको प्रयोग गरेर कडा परिश्रमसहित सामग्रीहरु उत्पादन गर्छन् । ‘कुशल भाँडा उद्योग’ दर्ता गरी व्यावसायिकरुपमा काठका सामग्री उत्पादन गर्ने र बिक्री गर्ने उनको दैनिकी हो । पछिल्लो समयमा बजारमा आएका प्लास्टिक र सिलोटका भाँडाले काठका भाँडाकुँडा बिक्री घट्दै गएको उनी बताउँछन् । “पहिला–पहिला जस्तो आजभोलि काठका भाँडाकुँडाहरु बिक्दैनन्”, उनले भने, “प्लास्टिक र सिलोटका भाँडाहरु काठका भाँडाका तुलनामा सस्तो हुन्छन् ।” पछिल्लो समयमा काठका भाँडाको महत्वका बारेमा थाहा नभएकाले पनि उपभोगमा कमी आएको हुनसक्ने उनको दाबी छ ।
गाउँघरमा पहिला गाईभैँसी पाल्ने र काठको ठेकीमा दही जमाउने, काठकै ठेकामा मोही पार्ने, घ्यू बिक्री गर्ने चलन भएता पनि आजभोलि गाईभैँसी पाल्न छाडेकाले पनि यसको प्रयोग घट्दै गएको हो । बजारमा आएका सस्तो र आधुनिक सामग्रीहरुको प्रयोगका कारण पनि काठका भाँडाकुँडाको प्रयोग घट्दै गएको हो । “आफूले उत्पादन गरेका विभिन्न काठका भाँडाहरु काठमाडौँ, पोखरा, बुटवल लगायत ठूला बजार तथा गाउँमै माग धेरै हुँदा पु¥याउन सकिन्नथ्यो”, उनले भने, “अहिले भने उत्पादन गरेर राखिएका काठका विभिन्न भाँडाकुँडा मात्रै झण्डै पाँच लाख मूल्यको गोदाममा थन्किएको छ ।” उद्योगमा उनीसहित अन्य सातजनाले रोजगारीसमेत पाएका छन् । आफ्नो आम्दानीको मुख्य स्रोतका रुपमा रहेको यो पेसा नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा उनी चिन्तित छन् । युवा पुस्ताहरु रोजगारीका लागि विदेश जाने वा अन्य पेसामा लाग्ने गरेकाले पनि सीप पुस्तान्तरण हुन नसकेको उनले बताए । उत्पादन भएका सामग्रीहरु बिक्री नभएपछि अहिले चाडपर्व लाग्ने मेलाहरु, महोत्सवहरुमा लगेर प्रदर्शन तथा बिक्री गर्दै आएका छन् । –रासस