सुशीला रेग्मी (रासस)
पाल्पा, यहाँको निस्दी गाउँपालिका–५ ढुानाबेँशीमा रहेको जनता माविमा कक्षा ९ मा अध्ययन गर्छिन् डुमिसरा सारु । उनको भलिबलमा धेरै नै रुचि छ ।
भविष्यमा राम्रो खेलाडी बन्छु भन्ने सोच भएतापनि खेल्ने उचित वातावरण नहुँदा उनी निराश छिन् । स्थानीय तथा विद्यालयस्तरमा हुने खेलकुदका कार्यक्रममा सहभागी हुँदै गर्दा पूर्वाधारको विकास तथा उचित वातावरण नहुँदा राम्रो खेलाडी बन्ने सपना पूरा नभएकोमा उनी चिन्तित छिन् । दुई वर्षदेखि स्थानीयस्तरमा हुने भलिबल खेलमा प्रतिस्पर्धा गर्दै आएकी छन् उनले । सोही विद्यालयको कक्षा १२ मा अध्ययन गर्ने १७ वर्षीया देउमाया सारु पुरुषको तुलनामा महिला खेलाडीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउँछिन् । एकै प्रकृतिको खेल आयोजना भएपनि पुरस्कारमा महिलालाई समान व्यवहार नभएको उनको गुनासो छ । ‘प्रतिभाशाली खेलाडी भए पनि बाहिर प्रतिस्पर्धामा निस्कने कम छन् ।
पुरुषको तुलनामा महिलाका लागि आयोजना हुने खेलमा थप मनोबल बढाउने गतिविधि हुनुपर्यो, महिला भनेर एकै प्रकृतिको खेलमा पुरस्कारमा विभेद् गर्नभएन, यस्ता कुराले पनि भर्खरै खेलमा जुर्मुराउँदै गरेका खेलाडीमा असर गर्न सक्छ’ उनले भनिन् । गाउँघरमा छरछिमेक, दाजुदिदीले खेल खेलेको देखेर आफूले पनि स्थानीयस्तरमा हुने कार्यक्रममा सहभागिता जनाउने गरेको उनको भनाइ थियो । ‘पुरुष खेलाडीले खेल्दा दर्शकबाट पनि छुट्टै प्रोत्साहन हुने, आयोजकले विशेष प्राथमिकता र महत्व दिने गर्दछन् ।
यसले गर्दा महिला खेलाडीमा निराशा हुनु स्वभाविक नै हो’, उनले भनिन् । दरैठाँटी मावि रामपुरमा कक्षा १० मा अध्ययन गर्ने १५ वर्षीया अस्मी घर्तीले तीन वर्षयता भलिबललाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागी हुँदै आएकी छन् । महिलाका लागि विद्यालय तथा स्थानीयस्तरमा भलिबल खेल धेरै आयोजना हुने गरेकाले राम्रो खेलाडी बन्ने अठोटका साथ उनी मैदानमा निस्किएकी छन् । ‘स्थानीयस्तरमा खेलका लागि आवश्यक न्यूनतम पूर्वाधार खडा हुन नसक्दा खेलमा भविष्य देखेका हामी स्थानीयस्तरमा मात्रै सीमित त बन्ने होइन भन्ने चिन्ता लाग्छ’, उनले भनिन् ।
स्थानीय तहमा मात्र नभइ बाहिरी जिल्लामा पनि प्रतिस्पर्धा गर्न सक्ने गरी प्रशिक्षणको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो । उनका अनुसार प्रशिक्षणको व्यवस्था नहुँदा आफ्नै मेहनतले सिक्दै खेल्ने गरिएको छ । स्थानीयस्तरमा स्थानीय सरकारले महिला खेलाडीका लागि आवश्यक पूर्वाधार तयार पार्नुपर्नेमा उनले जोड दिए । दरैठाँटी माविकै कक्षा ११ मा पढ्ने १८ वर्षिया अस्मिता थापा सानैदेखि भलिबलमा रुचि राख्द थिइन् । अहिले भलिबल खेल्न पाउँदा उनी हर्षित छन् । ‘भलिबलसँग मेरो एक खालको प्रेम बसेको छ । फुर्सदमा भलिबल खेल्ने गर्छु । परिवारको साथ र सहयोग पाएकाले यसबाटै राष्ट्रिय खेलाडी बन्ने सपना छ’, थापाले भनिन् । तीन वर्षदेखि भलिबल खेल्दै आएकी उनी महिलालाई छुट्टै प्रशिक्षण, प्रशिक्षकको व्यवस्था, बाहिर प्रतिस्पर्धामा जान वडा तथा पालिका तवरबाट प्राथमिकता दिनुपर्ने बताउँछिन् । ‘स्थानीयस्तरमा मात्रै केन्द्रित बनाउँदा आशा लाग्दा र सम्भावना बोकेका खेलाडी ओझेलमा परेका छन्, राम्रो खेल्न सक्ने क्षमता भए पनि पूर्वाधारलगायत विविध समस्याले खेलमा महिलाको उपस्थिति कम छ’, उनले भनिन् । विद्यालयस्तरमा हुने खेलकुदका कार्यक्रमले यस क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको रामपुर नगर भलिबल संघका अध्यक्ष देव श्रेष्ठले बताए । ‘अझैपनि पुरुषको तुलनामा महिला खेलाडीलाई सहभागिताका लागि समस्या छ । उनीहरुलाई घरमै लिन जानुपर्ने हुँदा महिलालाई प्राथमिकतामा राखेर स्थानीय तह तथा सम्बन्धित निकायले खेलकुदजन्य कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ’, अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार पहिलेभन्दा हिजोआज महिलालाई घर बाहिर निस्कन केही सहज भएपनि घरायसी कारणले सहभागिता गराउन समस्या छ । रामपुर क्षेत्रमा विभिन्न विधामा खेलकुदजन्य कार्यक्रम भइरहे पनि महिलाका लागि भलिबलमा मात्रै सीमित बनाइन्छ ।
संघीय संरचनापछि स्थानीयस्तरका कार्यक्रममा सहभागी हुने अवसर पाएपछि महिला खेलाडी प्रतिस्पर्धामा विस्तारै निस्कदै गएका छन् । राष्ट्रपति रनिङ शिल्ड, मेयर कप, अध्यक्ष कप, ओकेबाजे कप जस्ता प्रतियोगितात्मक कार्यक्रमले महिला खेलाडीलाई प्रतिस्पर्धामा आउन सजिलो बनाएको छ । स्थानीय र जिल्ला तहमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई सम्बन्धित पालिकाले माथिल्लो क्षेत्रसम्म प्रतिस्पर्धा गर्ने वातावरण तयार पारिदिनुपर्ने महिला खेलाडी बताउछन् । खेल क्षेत्रमा सामान्य आधारभूत सेवा सुविधा समेत नहँुदा खेलाडीको मनोबल बढ्न नसकेको उनीहरुको भनाइ छ ।