Shittalpati
कृषि आयात र आत्मनिर्भरताको चुनौती

कृषिप्रधान देश भनेर चिनिएको नेपाल आज दैनिक उपभोगका धेरै कृषि वस्तुमा परनिर्भर बन्दै गएको छ । धान, मकै, तरकारी, फलफूलदेखि दूधजन्य पदार्थसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु केवल आर्थिक समस्या मात्र होइन, राष्ट्रिय आत्मनिर्भरतामाथिको गम्भीर चुनौती पनि हो । कृषिमा ठूलो सम्भावना हुँदाहुँदै आयातको मात्रा बढ्दै जानु राज्यको नीतिगत कमजोरी, उत्पादनमुखी योजनाको अभाव र युवाशक्ति पलायनको प्रत्यक्ष परिणाम हो । नेपालमा खेतीयोग्य जमिन प्रशस्त भए पनि धेरै भू–भाग बाँझो रहन थालेका छन् । गाउँका युवा रोजगारीको खोजीमा विदेसिँदा खेतबारी उजाड बन्दै गएका छन् । अर्कोतर्फ, कृषि पेशामा लागेका किसानले समयमै मल, बीउ, सिँचाइ र बजारको सुविधा पाउन सकेका छैनन् । उत्पादन लागत बढ्दो छ तर किसानले उचित मूल्य पाउँदैनन् । यस्तो अवस्थाले कृषिप्रति निराशा बढाएको छ । परिणामस्वरूप विदेशी उत्पादनले नेपाली बजार भरिँदै गएको छ ।

कृषि आयात बढ्नुले केवल व्यापार घाटा बढाउँदैन, यसले देशको खाद्य सुरक्षा पनि कमजोर बनाउँछ । कुनै संकट, महामारी वा अन्तर्राष्ट्रिय द्वन्द्वको समयमा आयात अवरुद्ध भए देशभित्र खाद्यान्न अभाव सिर्जना हुन सक्छ। त्यसैले कृषि आत्मनिर्भरता केवल आर्थिक मुद्दा होइन, राष्ट्रिय सुरक्षासँग समेत जोडिएको विषय हो । अब राज्यले कृषिलाई परम्परागत जीविकोपार्जनको माध्यम मात्र नभई आधुनिक र सम्मानित पेशाका रूपमा विकास गर्न आवश्यक छ । उत्पादनमा आधारित अनुदान, आधुनिक प्रविधिको प्रयोग, कृषिमा युवा आकर्षण, सहकारी प्रणालीको सुदृढीकरण तथा स्थानीय उत्पादनको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रको सम्भावित बाली र उत्पादनलाई प्राथमिकता दिएर दीर्घकालीन योजना बनाउनु आवश्यक छ । नेपालले आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्न सके मात्र आर्थिक सबलीकरण सम्भव हुन्छ । आयातमा आधारित उपभोग संस्कृतिभन्दा स्वदेशी उत्पादन र श्रमको सम्मान गर्ने सोच विकास गर्नु आजको आवश्यकता हो । कृषि बचाउन सकियो भने मात्र ग्रामीण अर्थतन्त्र बलियो बन्नेछ र राष्ट्रले दिगो समृद्धिको बाटो समात्नेछ ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update