Shittalpati
थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

दाङ, तुलसीपुर उपमहानगरपालिका–१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् ।

    तुलसीपुर–१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको लामो समय बितिसकेको छ । उनले तरकारी खेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई एक सफल महिला कृषकका रूपमा चिनाएकी छन् । उनले मौसमी र बेमौसमी तरकारीसहित धनियाँ बिक्री गरेर वार्षिक रु चार लाखसम्म आम्दानी भइरहेको जानकारी दिइन् । आफूले उत्पादन गरेको धनियाँ र तरकारी बिक्री गर्न एकाबिहानै छिटुवा बोकेर तुलसीपुर बजारका घरघर पुग्छिन् । यसपटक मौसमी धनियाँ बिक्रीबाट मात्र रु दुई लाख ५० आम्दानी भएको स्यानीले बताइन् । उनले भनिन्, “अहिले बेमौसमी तरकारी खेती र धनियाँ खेती गरेकी छु । उत्पादन मनग्य छ, दिनहुँजसो बजारमा बिक्री गरिरहेकी छु ।” विसं २०५८ देखि यो पेसा अपनाएको बताउँदै स्यानीले १५ वर्षदेखि व्यावसायिक रूपमा खेती सुरु गरेको बताइन् । उनले हाल १० कठ्ठा जमिनमा स्थानीय जातको बेमौसमी धनियाँ खेती गर्नुभएको छ भने १० कठ्ठा जमिनमा तरकारी खेती गरेकी छन् । एक वर्षमा दुई पटक मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएको बताउने उनले धनियाँ प्रतिमुठा रु २० मा बिक्री गर्दै आएको जानकारी दिइन् । उनका अनुसार बोडी, भिन्डी, करेला प्रतिकिलो रु एक सय २० सम्म बिक्री हुन्छ । तरकारी बेचेर भएको आम्दानीबाट स्यानीले गाउँमा १७ कठ्ठा चार धुर जमिन जोडेको बताइन् । हाल १० कठ्ठामा धनियाँ खेती र बाँकी जमिनमा बेमौसमी तरकारी खेती गर्दै आएको उनले उल्लेख गरिन् । तुलसीपुर उपमहानगरपालिकाले तरकारी बिक्रीका लागि बनाइदिएको तरकारी केन्द्र बजारबाट टाढा रहेकाले त्यहाँ उपभोक्ता नजाँदा सडकमै बसेर बिक्री गर्नुपर्ने बाध्यता रहेको स्यानीले बताइन् । तुलसीपुर–१५ की ५५ वर्षीया रेखा चौधरी पनि व्यावसायिक रूपमा तरकारी खेती गरेर आत्मनिर्भर बनेकी छन् । उनले १५ कठ्ठा जमिनमा टमाटर, काँक्रा, सिमी, भिन्डी, बोडीलगायत बेमौसमी तरकारी खेती गरिरहेको बताइन् । उत्पादन गरेको तरकारी बिक्री गर्न दैनिकजसो बिहानै आफू तुलसीपुर बजारमा आउने गरेको उनले जानकारी दिइन् । रेखाले भनिन्, “पहिला हामीले धानखेती गर्दथ्यौँ, तर त्यसबाट मात्र मनग्य आम्दानी लिन नसकेपछि धानखेती छाडेर छ वर्षदेखि तरकारी खेती गरेका छौँ, दुःख भए पनि आम्दानी प्रशस्त हुन्छ । तर सडक छेउमा बसेर तरकारी बेच्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम छ ।” सडक छेउमा बसेर एक वर्षमा रु चार लाखसम्म आम्दानी भइरहेको उनले जानकारी दिइन् । तुलसीपुर–१५ की ४० वर्षीया राजपति चौधरीले तरकारी खेतीमा रमाउँदै वार्षिक रु तीन लाख ५० हजारसम्म आम्दानी गरिरहेकी छिन् । उनले १४ कठ्ठा जमिनमा व्यावसायिक रूपमा मौसमी र बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्नुभएको छ ।

तरकारी खेतीबाटै भएको आम्दानीले दुई छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको उनले बताइन् । सामान्य लेखपढ गरेको बताउने राजपतिले यो पेसामा टिकाइराख्न महिलालाई तरकारीको उचित मूल्य र बजारीकरण, सुरक्षित बिक्री गर्ने स्थान तथा उन्नत जातको बीउ र कीटनाशक औषधि, तालिमको व्यवस्था आवश्यक रहेको भन्दै स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् । यी तीन महिला मात्रै होइन अकमी, धम्कापुर, मटेरा, मेटेरी, गोलौरी, प·ालगायत गाउँका ५०० बढी थारु महिला तरकारी खेतीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । तरकारी खेतीबाटै आत्मनिर्भर बन्दै गएका उनीहरूमध्ये अधिकांशले दिनहुँ तुलसीपुरस्थित सीतलपुर चोकका सडक छेउमा बिहानैदेखि बसेर तरकारी बिक्री गर्दै आएका छन् । उपमहानगर क्षेत्रका धेरै किसान तरकारी खेतीमा आकर्षित भई आत्मनिर्भरतर्फ उन्मुख भइरहेकाले उपमहानगरले आवश्यक समन्वय र सहजीकरण गरिरहेको उनको भनाइ छ । विशेष गरी तरकारी खेतीले गर्दा महिलालाई आर्थिक रूपमा सक्षम बनाउन मद्दत पुगेको उनले बताइन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update