Shittalpati
        रास्वपाले सुवर्ण अवसर नगुमाओस्

दुर्गा प्रसाद अर्याल

भन्ने गरिन्थ्यो यो मिश्रित निर्वाचन प्रणाली रहँदासम्म नेपालमा दुई तिहाईका त कुरै छोडौ कुनै पनि राजनीतिक दलको बहुमत पनि आउँदैन् । अस्थिर सरकार ,अस्थिर राजनीतिक अवस्था नेपालीको नियती जस्तै हो । विशेष परिस्थितिमा तय भएको फागुन २१ को आमनिर्वाचनले यी भनाईलाई गलत सावित गर्दै केहि वर्ष अगाडि खुलेकोे राजनीतिक दल रास्वपाले झण्डै दुई तिहाई नजिकको जनमत प्राप्त गरेको छ । जेनजी अभियान्ता ,युवा वर्ग , वैदेशिक रोजगारमा रहेका तमाम नेपालीको समर्थन ,जनतामा नयाँ दलको काम हेर्ने चाहना ,नेपाली जनतामा बढ्दै गएको राजनीतिक सचेतना जस्ता पक्ष यस प्रकारको जनमत प्राप्तको कारण बन्न पुगेको देखिन्छ । भ्रष्टाचारको अन्त्य ,सुशाशन,रोजगारी र देश बनाउने रास्वपाको नारालाई यो पटक जनताले विश्वास गरेको देखिन्छ । यो पटक राजनीतिक दलले चुनावी गठबन्धन गर्न नभ्याउदै जनताले देशभर गठबन्धन गरे, आपसी छलफल गरे अनि देशभरबाट अप्रत्याशित जनमत दिए । बहुमतको सरकार, दुई तिहाईको सरकार नेपालका लागि बिरलै घट्ने घटना ,ऐतिहासिक घटना जस्तै हुन् जुन  यो पटक फेरि दोहोरिएको छ । विद्यमान तमाम समस्या समाधान गरेर देशलाई विधिको साशनमा रुपान्तरण गर्न ,बढ्दै गएको वैदेशिक रोजगारी दरमा कमी गर्दै देश भित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न ,संविधान ,ऐन नियममा रहेका अप्ठ्यारा प्रावधान हटाउन ,आवश्यक ऐन नियम बनाउन जनमत प्राप्त दलको प्रमुख जिम्मेवारी रहेको देखिन्छ । यसका साथै संघीयतासँगै विकास भएको राज्यको नयाँ सरचनाले देश अस्थिर र अनियन्त्रित अवस्था देखिन्छ । यसलाई व्यवस्थित बनाउन ,विधिमा सञ्चालन गर्न ,तमाम वेथितिको चाङ , परम्परालाई आत्मसाथ गरेको कर्मचारीतन्त्र , सिमित साधन स्रोतकाबिच कार्य गर्न केहि चुनौती भएता पनि प्राप्त जनमतको कदर गर्दै आमजनतामा आशा जगाउने कार्य गर्ने एतिहासिक अवसर भने  रास्वपालाई रहेको देखिन्छ । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ । 
विगत र वर्तमान :
      नेपालको राजनीतिक इतिहासमा राजनीतिक दलले दुई तिहाई जनमत प्राप्त गर्नु एक दुर्लभ घटना जस्तै देखिन्छ । सर्वप्रथम वि.स. २०१५ मा बि.पी कोइरालाको नेतृत्वमा रहेको नेपाली काँग्रेसले झण्डै दुई तिहाई नजिकको जनमत ल्याएको थियो । त्यस जनमतबाट बनेको सरकारलाई पहिलो जननिर्वाचित सरकारको रुपमा पनि चिनिने गरिन्छ । देश र जनतामा केन्द्रीत बि.पी साशनको अहिले पनि चर्चा रहिरहेको छ ।  त्यस पछि वि.स. २०७४ सालमा तत्कालीन माओवादी र एमालेको एकिकरण पछि बनेको नेकपाले दुई तिहाई भन्दा बढी सिट ल्याएको तर जनतालाई आशा जगाउने काम नगर्दै  आन्तरिक द्वन्द्वले छियाँ–छियाँ भएको नमिठो एतिहास हामी सामु रहेको छ । यी नमिठो विगतकाबिच  रास्वपाले ल्याएको जनमत देश र जनताका पक्षमा प्रयोग हुने कुरामा जनता ढुक्क देखिन्छन् । यो एकाधिकार अवसर कुनै पनि राजनीतिक दललाई प्राप्त गर्न फेरि शताब्दी नै बिताउनु पर्ने देखिन्छ ।  यो राजनीतिक घटना अब फेरि नदोहोरिने भएकाले पाँच वर्षको समयलाई सुवर्ण अवसरको रुपमा प्रयोग गर्नु पर्ने रास्वपा र रास्वपा नेतृत्व माथि दवाब देखिन्छ । 
रास्वपालाई प्राप्त जनमतको कारणहरु :
    भाद्र २३ र २४ को जेनजी आन्दोलन र सो क्रममा भएको ७६ जनाको हत्या र तीनको मृत्युले सडकमा पोतिएको रगत नमेटिदै ,जनमानसबाट ओझेल नपर्दै तत्काल आएको निर्वाचन मुख्य कारण बन्न पुगेको थियो जनमतमा आएको परिवर्तन । यसका साथै दशकौं अगाडिदेखि साशन गर्दै आएका पुराना राजनीतिक दलहरुप्रति जनमानसमा बढ्दै गएको वितृष्णा ,विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा रहेको काँग्रेसले छोटो समयका कारण जनतामा विश्वास स्थापित गर्न नसकेको अवस्था ,युवा वर्गको समर्थन, वैदेशिक रोजगारमा गएका लाखौं नेपाली र तीनका परिवारको रास्वपाप्रतिको समर्थन ,रास्वपाले वास्तविक जेनजी भावनालाई जितेको , विभिन्न किसिमका भ्रष्टाचारका काण्ड ,रातारात मिलेका प्रमुख शक्ति मानिने राजनीतिक दलको मिलन, ओलीको साशन सञ्चालन गर्ने तानशाह शैली , सामाजिक सञ्जाल प्रतिको प्रतिबन्ध , विभिन्न किसिमका सामाजिक सञ्जाल र अनलाईन खवर पोटलहरुको कन्टेनहरु रास्वपा र घण्टीमय , सुशासन ,भ्रष्टाचारको अन्त्य , देश भित्रै रोजगारी, कामका लागि विदेश जानु नपर्ने जस्ता  नारा , काठमाडौं महानगरपालिकाको मेयरमा रहँदा राम्रो काम गरेर प्रतिष्ठा कमाएका ,युवा पुस्ताबिच लोकप्रिय  बालेन्द्र शाहको रास्वपामा प्रवेश र भावि प्रधानमन्त्रीको रुपमा घोषणा, मधेशीको छोरो पहिलो पटक प्रधानमन्त्री बन्ने जनअपेक्षा, नेपाली जनतामा विकास हुँदै गएको राजनीतिक सचेतना आदी रास्वपालाई प्राप्त भएको जनमतको केही कारणहरु हुन् ।
रास्वपाले अब गर्नु पर्ने कार्यहरु :
     दल हैन् मत परिवर्तन गर्न सिपालु देशभरका नेपाली जनताले स्थापित दलहरुलाई नराम्रो स्तिथीमा पु र्‍याए भने रास्वपाले आफुलाई एक पटक हेर्न गरेको आग्रहलाई विश्वास गर्दै झण्डै दुई तिहाईको जनमत दिए । प्राप्त जनमतबाट नहौसिएर ,नमातिएर ,नआतिएर पुरा समय देश र जनहितमा लाउनु पर्ने रास्वपा माथि दवाब बढ्दै गएको देखिन्छ । प्रमुख दल ,जिम्मेवार दल ,सरकार सञ्चालन गर्ने दलको हैसियतमा पुगेको रास्वपाप्रति जनतामा ठूलो अपेक्षा रहेको देखिन्छ । यसका लागि निम्न कार्य प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने देखिन्छ । 
–विद्यमान ऐन नियमका अप्ठयारा प्रावधानहरु हटाउने, नयाँ ऐन नियम बनाउने ।
–सुशासन र विधिको साशन स्थापित गर्ने ।
–कर्मचारीतन्त्रमा सुधार ,राजनीतिक हस्तक्षेपबाटमुक्त गराउनुपर्ने ।
–राज्यका अंग र सवैद्यानिक अंगहरुलाई सरकारी हस्तक्षेपबाट मुक्त ,स्वचालित बनाउने ।
–बन्द भएका उद्योगहरुको सञ्चालन ,प्राकृतिक स्रोत साधनको परिचालन ।
–प्रदेशलाई मितव्ययी , स्थानीय तहको संख्या कटौती गरि थप अधिकार सम्पन्न बनाउने ।
–केन्द्रीय मन्त्रालय ,प्रदेश मन्त्रालय ,सासदको संख्यामा कटौती गर्ने ।
–कर बाहेक आम्दानीका थप स्रोतहरुको खोजी गर्ने ।
–रोजगारीका अवसरहरु सिर्जना ।
–उपभोग्य बस्तुको गुणस्तर कायम गर्ने ।
–अव्यवस्थित सिमालाई व्यवस्थित गर्ने ।
–उच्च पदस्थ कर्मचारी,नेताको सम्पत्ति छानबिन गर्ने ।
–शिक्षा र स्वास्थय निःशुल्क ।
–सन्तुलित वैदेशिक नीति ।
–वैदेशिक लगानी आर्कषणका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने । 
–समानुपातिक बजेट बाडफाँड ।
 रास्वपालाई अवसर र चुनौती :
       जनमत प्राप्त गर्नु मात्रै ठूलो उपलब्धी हैन् ,यसको सहि सदुपयोग प्रमुख विषयवस्तु हो । जनताको जनमतलाई सहि प्रयोग गर्न नसक्दा विगतमा दुई तिहाइ , बहुमतको सरकार र पार्टीले जनविश्वास गुमाएको ,दल फुटेको ,सरकार ढलेको ,तत्कालीन माओवादी सकिएको ,दुई तिहाई बढीको नेकपा सडकमा पुगेको नमिठो इतिहास हामीसँग ताजै  छ । दल फुटाउन ,सरकार र राजनीतिक दललाई असफल बनाउन विभिन्न देशीविदेशी शक्ति अदृश्यरुपमा सक्रिय भैरहने ,पार्टीलाई एकतावद्ध बनाएर राख्न ,दुई ठूला छिमेकी देशको स्वार्थ परिपूर्तीबाट बचेर राज्य सञ्चालन गर्न ,सिमित स्रोत साधनबाट जनताको बढ्दो चाहना र आवश्यकता परिपूर्ति गर्न रास्वपा नेतृत्वको सरकारको लागि मुख्य चुनौतीको रुपमा रहेको देखिन्छ ।
      राजनीतिक अस्थिरता ,सरकार परिवर्तनका श्रङ्खलादेखि वाक्कदिक्क भएका जनतालाई स्थिरताको उपहार दिनु ,तमाम वेथितीको अन्त्य गर्दै देशमा सुशाशन स्थापित गर्नु ,राजनीतिक खिचातानी र राजनीतिक स्वार्थले रुमलिएका सरकारी संयन्त्रलाई चुस्तदुरुस्त बनाई सेवा मैत्री बनाउने ,संसदलाई आरोप प्रत्यारोपबाट मुक्त बनाएर देश र जनतामा केन्द्रीत र जिम्मेवार बनाउने ,सरकारलाई जनताको अभिभावको भूमिकामा सञ्चालन गर्ने कार्यमा रास्वपालाई अवसर प्राप्त भएको छ । दशकौं अवधि बेथित हुँदा बनाउन नसकेका ऐन नियम बनाउने ,संशोधन गर्नुपर्ने संशोधन गर्ने ,संघीयतालाई व्यवस्थित र मितव्ययी बनाउने जस्ता तमाम कार्य गरेर इतिहास बनाउने अवसर झण्डै दुई तिहाईको जनमत प्राप्त रास्वपा र तीनको नेतृत्वमा रहेको छ । अबको पाँच वर्ष अवसरमा रुपान्तरण गर्नु जरुरी देखिन्छ । यो प्राप्त जनमत कुनै आवेग , उत्तेजना र भावनामा वहेर जनताले दिएको जनमत होइन् । यो कुनै किसिमको लहर र सामाजिक सञ्जालको प्रभावको कारण मात्रै प्राप्त भएको होईन । रास्वपाले प्राप्त गरेका हरेक जनमतमा जनताको दुःख र पिडा मिसिएको छ , देश बन्ने मिठो सपनाले प्राथमिकता पाएको देखिन्छ । यति मात्रै नभएर जनतामा विकास हुँदै गएको राजनीतिक चेतना ,बर्षौदेखि केहि राजनीतिक दलको सिण्डीकेटले ग्रहस्थित जरा गाडेर बसेको बेथिती ,राजनीतिक अस्थिरताको अन्त्यका लागि जनताबाट चालिएको मौन क्रान्ति पनि हो । क्रान्तिको परिणाम हो रास्वपाले प्राप्त गरेको जनमत । जनताको जनमत र भावना नबुझि फेरि केहि सिमित स्वार्थका लागि पुरानै अवस्था दोहोरिएमा रास्वपाको नियत पनि वर्खामा उम्रेको च्याउ जस्तै नहोला भन्न सकिदैन् । जेनजी क्रान्तिले साथ दियो ,समयले साथ दियो ,जनताले साथ दिए अनि रास्वपालाई प्राप्त भयो देश बनाउने स्वर्णीम अवसर । 

निष्कर्ष :
          जनतामा राजनीतिक चेतना बढ्दै गएको छ । दल नफेरिकन मत फेर्न जनता सिपालु भै सकेका छन् । काम गर्ने र नगर्ने नेता र दल छुट्याउन सक्ने ल्याकत राख्ने भएका छन् । जुन वि.स.२०६४ पछिका आमनिर्वाचनमा प्राप्त परिणामले देखाईसकेको छ । हिजो दुई तिहाई मत पाएका राजनीतिक दलको हैसियत आज दयनिय अवस्थामा रहेको छ । जनताका अपेक्षा, स्थिर सरकार र देश बनाउने एजेन्डा पुरा गर्न नसकेमा आजको रास्वपाको हैसियत आगामी दिनमा पुराना पार्टीको जस्तै नहोला भन्न सकिदैन् । दम्ब ,आवेग र उत्तेजनामा हैन देश र माटोलाई बुझेर साशन सञ्चालनको अभ्यास गरेमा रास्वपाको अबको पाँच बर्षे कार्यकाल सफल उन्मूख ,जनप्रिय हुनेमा दुईमत रहँदैन । यो जनमत र काम गर्ने स्वर्णीम अवसर रास्वपाले नगुमाओस् । यहि कामना गरौं ।

(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।) 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update