गुल्मी,गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिनस्विप गरेको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा प्रतिनिधिसभाका दुवै सिटमा रास्वपाका उम्मेदवारहरू विजयी भएका हुन् ।
यहाँको क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सागर ढकाल विजयी भएका छन् । ढकालले २९ हजार ६ सय ४२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले १५ हजार १ सय ८१ प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिए । ढकालले १४ हजार ४ सय ६१ मतान्तरसहित आफ्नो जीत निकालेका हुन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार डाक्टर चन्द्रकान्त भण्डारीले १३ हजार ५ सय ५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बरालले ३ हजार १ सय ६७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा सम्पन्न २०७४ सालमा एमालेका प्रदीपकुमार ज्ञवाली र २०७९ मा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी निर्वाचित भएका थिए । ज्ञवाली पटक पटक मन्त्री समेत भइसकेका छन् । यहाँ हालसम्म सम्पन्न भएका प्रायः निर्वाचनमा ज्ञवाली र भण्डारीको आलोपालो जस्तै थियो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित ढकाल गत निर्वाचनमा डडेल्धुरामा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासित स्वतन्त्र उम्मेदवार बनेर चर्चा कमाएका थिए ।
यस्तै क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार गोकर्ण बिष्टलाई ५ सय ६१ मतान्तरले पराजित गरेका हुन् । निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार पन्थीले १६ हजार ९ सय ६७ र बिष्टले १६ हजार ४ सय ६ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत ल्याउँदा नेकपाका श्रीराम महतले ३ हजार ८१ मत पाए । प्रतिनिधि सभा सदस्यमा निर्वाचित पन्थी भने नयाँ अनुहार हुन् । नेपाल प्रहरीका अवकाश प्राप्त डीएसपी उनी अधिवक्ता समेत हुन् । गोकर्ण २०५६ देखि यसै क्षेत्रबाट उठ्दै आएका थिए । उनी ०६४ को संविधानसभाबाहेक सबै चुनावमा जित्दै आए । २०६४ मा विष्ट नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर थापासँग २ हजार मतान्तरले पराजित भए । त्यसबेला नेपाली कांग्रेसबाट सुरेशचन्द्र भुसाल उम्मेदवार थिए । त्यसअघि २०५६ मा भएको निर्वाचनमा विष्टसँग कांग्रेसका त्रैलोक्यप्रताप सेन प्रतिस्पर्धी थिए । त्यसबेला विष्टले २ हजार २ सय मतान्तरले निर्वाचन जितेका थिए । २०७४ को निर्वाचनमा गोकर्णसँग कांग्रेसका चन्द्र केसी प्रतिस्पर्धी थिए । त्यसबेला गोकर्णले १४ हजार बढी मतान्तरले निर्वाचन जिते । त्यसअघि २०७० मा भएको निर्वाचनमा कांग्रेसका त्रैलोक्यप्रताप सेन मुख्य प्रतिस्पर्धी थिए । त्यसबेला गोकर्णले ६ हजारभन्दा बढी मतान्तरले निर्वाचन जिते । यसअघि ०७९ को चुनावमा गोकर्णले नेकपा एसकी रामकुमारी झाँक्रीलाई हराएका थिए । पन्थीसँग पराजित विष्ट पनि पटक पटक मन्त्री भइसकेका व्यक्ति हुन् ।


