पाल्पा,आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा पाल्पामा रौनक बढेको छ । उम्मेदवारहरूका लागि घरदैलो विगतको जस्तो सहज छैन । हिजोका दिनमा आश्वासन सुन्ने र ताली बजाउने मतदाता अहिले उम्मेदवारप्रति प्रश्न गर्न थालेका छन् । पुराना दलका नेताहरूलाई खबरदारी गरिरहेका छन् भने नयाँलाई उस्तै नहुने आधार मागेका छन् ।
रामपुर ५ की इच्छा थापाले युवा उम्मेदवार रोजेको बताइन् । पुरानोले काम गरेनन्, आशमात्र देखाए पहिलोपटक भोट हाल्न लागेकी उनले भनिनन् “गाउँमा सबै पुरानो प्रति दिक्दार छन् अब युवाले गर्छन् भनेर नै फेरिएर आएको काङ्ग्रेसका युवा उम्मेदवारलाई मत दिने सोच हामीले बनाएका छौं ।”विभिन्न आश्वासन दिएर भोट बटुल्ने तर सत्तामा पुगेपछि बिर्सिने बानी नेताहरुमा भएको स्थानीयको गुनासो छ । बिजयी भएर पुनः निर्वाचनमा होमिएका निवर्तमान सांसदलाई मतदाताले मत माग्ने आधार मागेका छन् । पाल्पा क्षेत्र नम्बर १ मा मोटरबाटो धुलाम्मे छ, स्थानीय उत्पादन छैन, भएकाले राम्रो बजार पाउदैन, दिगो पर्यटनको गन्तव्य स्थल र पुर्वाधार बनाउन सक्ने उम्मेदवारलाई यसपाला भोट दिने माथागढी झडेवाकी माया थापाले भनिन् । अहिलेको निर्वाचन पहिलेको जस्तो छैन । जनता जागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पनि देखिएको छ । पुरानै मतदाताबाट मत परिवर्तन र विभाजन हुनेछ । निस्दी ३ कि माया खरुले यसपटक ठूलो धक्का खाने बताइन् । मतदाताले अब उम्मेदवारको अनुहार होइन, उनीहरूको इमान्दारिता र विगतको कार्यशैलीको लेखाजोखा गरिरहेका छन् ।
यो कुनै एक दलको विरोधमात्र होइन, बरु वर्षौँदेखिको राजनीतिक ठगीविरुद्ध सचेत नागरिकले गरेको खबरदारी हो–उनले थपिन् । पहिलोपटक मत हाल्ने अधिकार लिन उत्साहित माथागढी ३ का जेनजी सुदिप थापाले अब देशभर युवा अनुहार आउने बताए । “नेपाली काङ्ग्रेसले पाल्पा १ मा ३८ बर्षका युवा खुबी र क्षमता भएका सन्दीप रानालाई उठाएको छ । मत दिन आतुर छु” थापाले भने । यी त केही प्रतिनिधिमूलक मात्रै हुन् । पाल्पा १ मा अहिले मत परिवर्तन हुने मतदाताको दाबी छ । देशको परिवर्तन र जेन्जीको बिद्रोहले युवा र इमानदारी नेतृत्व खोजेको छ । पाल्पा १ मा कुल ९८ हजार ३८३ मतदाता छन् भने ११७ मतदान केन्द्र तोकिएको छ । जहाँ ९ राजनीतिक दल र ४ स्वतन्त्र गरि १३ जना उमेदवारबिच प्रतिस्पर्धा हुदै छ ।


