पाल्पा,नेपाली काँग्रेस पाल्पा–२ का उम्मेदवार हिमालदत्त श्रेष्ठले आफूले मतदाताबाट अपार माया र सद्भाव पाएको बताएका छन् । चुनावी प्रचार–प्रसारका क्रममा घरदैलो अभियान सञ्चालन गरिरहेका श्रेष्ठ आफ्नो क्षेत्रका अधिकास वडामा पुग्दा मतदाताले आफूप्रति देखाएको सद्भाव र शुभेच्छाले हौसला बढाएको बताएका हुन् ।
“सबै वडामा पुग्दा म र काँग्रेसप्रति मतदाताले देखाएको माया र सद्भावले हौसला बढाएको छ । उहाँहरुले देखाएको अपार मायाले हामी आफ्नो चुनावी यात्रामा सफल हुन्छौं भन्नेमा ढुक्क छौं”, श्रेष्ठले भने, “हामीले सोंचे भन्दा पनि धेरै राम्रो प्रतिक्रिया र आतिथ्यता पाएका छौं ।”प्रचार–प्रसारका क्रममा मतदाताको घरदैलोमा पुग्दा आमजनताको अपेक्षा जनप्रतिनिधिले पुरा गर्नै नसक्ने खालका नभएर दैनिक रुपमा भोग्दै आउनु परेको सामान्य खालका भएको उनले जनाए । “उहाँहरुको माग कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता विषयवस्तुसँगै नै केन्द्रित छन्”, उनले भने, “दैनिक जीवनयापनका लागि आवश्यक पर्ने अत्यावश्यक बस्तुको व्यवस्थापन गर्नेसँग सम्बन्धित छन् ।” यस बाहेक अधिकाँश मतदाताले पछिल्लो समयमा युवा पिँढी बिदेशिने क्रमले गर्दा आफूहरु घरमा एक्लो हुन थालेको पीडा सुनाउने गरेको उनले जनाए । विदेशिने क्रमलाई कसरी रोक्न सकिन्छ ? बस्ती टोल युवाबिहीन हुन थाले । मुलुकलाई कसरी आर्थिक समृद्धि बनाउन सकिन्छ ? सहज रुपमा प्रशासनिक सेवा कसरी पाउने ? जस्ता जिज्ञासा आफू समक्ष मतदाताले गर्ने गरेको उनले बताए । आफू स्थानीय भएको नाताले जन्मिको, खेलेको, हुर्केको, घुमेको स्थल यही भएकाले यहाँका सबै समस्यसँग चिरपरिचत रहेको नेता श्रेष्ठले उल्लेख गरे ।
उनी यस क्षेत्रका समग्र युवा तथा ज्येष्ठ नागरिकको साझा उम्मेद्धारका रुपमा मतदातासँग मत माग्दै आएका छन् । जेनजी युवाहरुको भावना बुझ्ने र युवा समुहको प्रतिनिधित्व गर्ने शसक्त युवा उम्मेद्धारको रुपमा श्रेष्ठ रहेका छन् । उनले बजारको भोगाई र गाउँको समस्या नजिकबाट नियालेका छन् । पाल्पामा विशेषगरि पर्यटन, कृषि,स्वास्थ्य, शिक्षा र सडक संरचनालाई नै मुख्य रुपमा विकास गर्नुपर्ने उनको स्पष्ट भिजन रहेको छ । ग्रामिण भेगमा शिक्षा र स्वास्थ्यमा सुघार, कृषि क्षेत्रमा जंगली जनावरको आक्रमण तथा सिंचाईको समस्या, खानेपानी, ग्रामिण सडकको दुरावस्था लगायत काम गर्ने अठोट उनले दिएका छन् । बजार क्षेत्रमा खानेपानी, ढल, सडक पुर्वाधार, पर्यटन लगायतको विकासका लागि स्पष्ट रुपमा कानुन संसोधन गरि दीर्घकालिन योजना सहित अबको विकास गर्नुपर्ने उनको भनाई छ ।


