Shittalpati
 वर्तमान संकट समाधानका लागि कांग्रेसले मात्रै सक्छ : विश्वप्रकाश शर्मा

गुल्मी, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान संकट समाधानका लागि कांग्रेसले मात्रै सक्ने दाबी गरेका छन् । शनिबार गुल्मीको क्षेत्र नम्बर १, छत्रकोट गाउँ कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।

उनले सक्षम र विज्ञहरूको ‘उत्कृष्ट टिम’ सहित कांग्रेसले सरकारको नेतृत्व गर्ने जिकिर गर्दै अहिले देखिएको संकटको समाधान काँग्रेसले मात्रै गर्ने बताए । शर्माले भने, “प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो होइन, देश विकासका लागि सिंगो टिम आवश्यक पर्छ । एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन ।”उनले देश निर्माणका लागि सशक्त र सक्षम टिम चाहिने र त्यो टिम कांग्रेसले बनाएर अघि बढ्ने स्पष्ट पारे । शर्माले थपे, “गगन थापा प्रधानमन्त्री बन्दैमा देश बन्छ भनेर हामी भन्दैनौँ । उनको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवालगायत सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टिमले सरकारको नेतृत्व गर्छ ।” उनले रास्वपा नेता बालेन शाहलाई लक्षित गर्दै उत्तेजनामा आएर भाषण गर्दैमा देश नबन्ने पनि बताए । शर्माले देश निर्माणका लागि स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र निरन्तर परिश्रम आवश्यक पर्ने उल्लेख गरे । पैसामात्रै भएर देश बन्दैन, देश बनाउन सोच र संकल्प चाहिन्छ, उनले बताए ।

भदौ २३ र २४ सम्म सबै भएको थियो र केही पनि बाँकी थिएन भन्ने एमालेको सोच र भदौ २३ र २४ सम्म केही पनि भएकै थिएन भन्ने रास्वपाको सोचभन्दा कांग्रेस भिन्न रहेको पनि उपसभापति शर्माले बताए । “देशमा केही भइरहेको थियो तर जति हुनुपर्ने हो त्यति भने भएको थिएन,” उनले भने, “कांग्रेसले यसलाई बदल्न चाहन्छ, जसका लागि आफू बद्लिएर आएको छ ।” देशभरका कांग्रेस उम्मेदवारले गरेका प्रतिबद्धता कांग्रेस पार्टीको प्रतिबद्धता भएको र त्यो पूरा हुने पनि उनले मतदातालाई आश्वासन दिए । “कांग्रेसले जुन कुरा गर्न सक्छ त्यो कुरा गर्छ । अहिले उम्मेदवारहरूले गरेको प्रतिबद्धता भावी प्रधानमन्त्री गगनको पनि प्रतिबद्धता हो । त्यसैले जिम्मेवार पार्टीका हैसियतले ती प्रतिबद्धता पूरा हुन्छन् म वाचा गर्छु ,”नेता शर्माले भने । विभिन्न  दलमा रहेका नेता र कार्यकर्ताहरू अहिले कांग्रेसमा आउने लहर आएको भन्दै नयाँ पुस्ताका माग र चाहनालाई पूरा गर्न पनि कांग्रेसका उम्मेदवारलाई जिताएर पठाउन उनले आग्रह गरे । नेपाली कांग्रेसले विकास निर्माणका कामलाई तीव्रता दिन तीन सिफ्टमा काम गर्ने योजना अघि सारेको  पनि नेता शर्माले बताए । पहिले १० वर्षमा सकिनुपर्ने काम ३० वर्ष लागेको बताउँदै उनले अब दिन–रात तीन सिफ्टमा काम गरेर ३० वर्षको काम १० वर्षमै सक्ने बेला आएको उनको भनाइ छ । देशलाई अघि बढाउन सबै क्षेत्रको सहकार्य, सकारात्मक सोच र कडा मेहनत आवश्यक रहेको उनले बताए । कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार चन्द्रकान्त भण्डारीले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताए । उनले आफ्नो क्षेत्रका अधुरा विकासका योजना पूरा गर्ने र युवालाई रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।


 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update