गुल्मी, पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कँुदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा संकटमा परेको मालिका गाउँपालिका–७ घमिरका नरबहादुर कार्कीले बताए ।
आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सुपथ मूल्यमा आकर्षक देखिने आधुनिक किसिमका भाँडाकुँडाहरू प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुख्र्यौली पेसा संकटमा पर्न थालेको कार्कीले बताए । ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरी जस्ता भाँडाहरू दही र मही राख्नका लागि प्रयोग गरिन्छ । काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानको लागि निकै स्वादिलो र राम्रो मानिन्छ । पछिल्लो समयमा बिस्तारै गाउँघरमा काठबाट निर्मित सामग्रीहरू विस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का ज्ञानबहादुर नेपाली बताउन्छन् । नयाँ पुस्ताहरू विस्तारै गाउँ छोडेर सहर झर्ने, विदेश जाने र पुराना पुस्ताहरू विस्तारै उमेरसँगै सकिदै जान थालेपछि यस्तो समस्या आएको उनले बताए । परम्परागत पेसा र पुराना सामग्रीहरूको संरक्षण गर्नका लागि स्थानीय पालीकाहरूले खासै चासो देखाएका छैनन् । पालिकाले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा खासै प्राथमिकता नदिएको चुँदारा समुदायको गुनासो छ । परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा विस्तारै काठका भाँडाहरू लोप हुँदै जान थालेका हुन् । बजारमा पाइने प्लाष्टिकबाट निर्मित भाँडाहरू झट्ट देख्दा आकर्षक र राम्रा र चिटिक्क देखिने र मूल्य पनि काठका भाँडाको तुलनामा सस्तो पर्ने भएका कारण पनि यस्तो समस्या आएको गुल्मी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष जनक पन्तले बताए । यस्ता प्रकारका परम्परागत सामग्री र वस्तुहरूको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनका लागि पालिकाहरूले थप सहयोग पुर्याउनुपर्नेमा उनले जोड दिए । परम्परागत शैलीबाट निर्माण हुने सामग्रीहरूको उत्पादन गर्न समय धेरै लाग्ने र अलि खर्चिलो हुने बताइएको छ । परम्परागत रूपमा उक्त पेसा गर्दै आएका व्यवसायीहरूले पछिल्लो समयमा काठका भाँडा बनाउने पेसाबाट आफ्नो गुजारा चलाउन समेत गाह्रो भएको बताउँछन् । आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि बोकेर गाउँ–गाउँमा डुलाउँदा कहिलेकाही बिक्री नहँुदा त्यत्तिकै फर्कनु परेकोे छत्रकोट गाउँपालिका–१ हुँगाका यमन सुनारले गुनासो गरे । काठबाट निर्मित भाँडाको महत्वको बारेमा जानकारी नभएका कारण पछिल्लो समयमा चुँदारा समुदायको पेसा संकटमा परेको हो । गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा आकारअनुसार ७०० देखि सात हजारसम्म पर्ने गर्दछ । जिल्लामा पछिल्लो समयमा आयोजना गरिने मेला महोत्सव लगायत सहकारी पसल र कोसेली घरमा भने फाट्टाफुट्ट रूपमा यस्ता प्रकारका सामग्रीहरू बिक्रीका लागि राखिने गरिन्छ ।


