Shittalpati
जनतालाई आशावादी बनाउने कसले ?

जनताको साशन व्यवस्था गणतन्त्र र राज्यको नयाँ सरचनाको नाममा देश हित विपरीत राज्य स्रोतको दोहनको श्रृखला चलेको करीब दुई दशक पुरा भएको छ । सो अवधिमा विकासको बाधक मानिएको राजतन्त्र शाशन व्यवस्थामा जस्तो पनि जनता र देशले न्याय र एकता पाउन सकेको देखिदैन् । राजनीतिक दल र तीनका वरपर नाच्ने केहि वर्ग र समूहलाई यस व्यवस्थाले फलिफाप गरेता पनि आम जनता र देशलाई भने विगतदेखि वर्तमान साशन व्यवस्थाले खासै आशा र सम्भावनाको किरण छर्न सकेको देखिदैन् । जनताले भने दैनिकी सुधार हुने र देशमा समृद्धिको आधारतय हुने आशमा हरेक साशन व्यवस्था ल्याउनका लागि साथ दिदै आएको विगत हामी माझ जिबितै रहेको छ । एक पछि अर्को आन्दोलन, साशन व्यवस्थाले देश विकास र समृद्धिको दिशामा हैन आन्तरिक र बाÞयरुपमा दिनप्रति दिन कमजोर हुँदै गएको देखिन्छ भने जनताको दैनिकीमा खासै सुधार र आशाका संकेत पनि देखिदैनन् । जनता एक पछि अर्को अप्ठ्यारो परिस्थितिको सामाना गर्दै जानु परेको छ ।  १०४ बर्षे जहानीया राणा साशनको अन्त्य र प्रजातन्त्रको पुर्नस्थापनादेखि जनयुद्ध, गणतन्त्र र पछिल्लो जेनजी आन्दोलन सम्मका कारण  फेरिएका साशन व्यवस्था र सरकारले जनतामा भने  भरोसाका किरण भने छर्न सकेको देखिदैन् । पछिल्लो जेनजी आन्दोलनबाट बर्षौदेखि स्थायीरुपमा रहेका बेथितिको अन्त्यका लागि महत्वपूर्ण योगदान दिने जुन आशा जनताले लिएका थिए त्यो आशा पनि आजका दिन सम्म आईपुग्दा पुरा हुने कुनै आधार देखिदैन् । त्यो विद्रोह कतै एक थान सरकार निर्माणमा मात्रै सिमित हुने हो की प्रश्न उत्पन्न भएको देखिन्छ । विगतदेखि वर्तमान सम्मका आन्दोलन, युद्ध, विद्रोहले जनतामा देश बन्ने, समृद्ध आउने आशावादी बनाउन सकेको देखिदैन् । यी र यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

देश विगतदेखि वर्तमान सम्म : १०४ बर्षे राणा साशनको अन्त्य भएर जनताको हातमा साशन व्यवस्था भएमा देश र जनताको मुहारमा फेरिने आशमा बदिलानी गरेका जनतालाई स्थापित प्रजातन्त्र र जनताको साशनले खासै आशा जगाउन सकेन राजा महेन्द्रले वि.स २०१७ सालमा प्रजातन्त्रको कु गरी पञ्चायती साशन व्यवस्था अबलम्वन गरे जसको कारण निशासिएका जनताले वि.स २०४६/०४७ मा प्रजातन्त्रको पुनःस्थापनाका लागि बलिदानी र आन्दोलनमा होमिए यस साशन व्यवस्थापछि पनि जनताले आशा अनुशारको साशन व्यवस्थामा सुधार देख्न सकेनन् । साशन व्यवस्थामा राजनीति खिचातानी, राजनीतिक अस्थिरता, सरकार परिवर्तनको दरमा तीव्रता आयो । घात अन्तरघातको श्रृखला चल्यो । बढ्दो असन्तुष्टिकाबिच वि.स.२०५२ बाट दश बर्ष माओवादीले जनयुद्ध सञ्चालन गर्यो देश फेरि भय र हत्याहिंसाको अवस्थामा गुजरिन बाध्य भयो । देशमा फेरि निराशाको बादल छायो । वि.स २०६३/०६४ मा जन आन्दोलन भयो जसको परिणामा स्वरुप दश बर्षे जनयुद्धको अन्त्य भयो देशमा फेरि आशाका किरणहरु छाउन थाले तर त्यो आशा निराशामा परिणत हुन् धेरै समय लागेन गणतान्त्रिक साशन व्यवस्थामा राजनीतिक दल नेतृत्वले आशा र भरोसा दिने वातावरण दिन सकेनन् । दिन दुई गुना रात चौ गुना भने झै बेथिती र आन्तरिक र बाय रुपमा देश कमजोर बनाउने श्रृखला चलिरहयो । प्राथमिकतामा देश र जनता परेनन् मात्रै पर्‍यो राजनीतिक स्वार्थ । जनतामा आशा र सम्भावना हैन झन निराशा बढ्दै गयो । गणतान्त्रिक साशन व्यवस्थाको करीब दुई दशक समय वेथित हुँदै गर्दा देश इतिहासमै सबै भन्दा कमजोर, बाय हस्तक्षेप तिव्ररुपमा बढ्दै गयो संघीयताको नाममा देश आर्थिक रुपमा कहिलै उठ्न नसक्ने स्थितिमा पुग्यो । भ्रष्टाचार, बेथिती, राजनीतिक आरक्षण, ढाकछोपमै महत्वपूर्ण समयहरु बेथित भए । जनता र देशहितको नारा लगाउदै, खोक्रो राष्ट्रवाद भजन गाउँदै विधिको साशन र कानुनी साशनको उपहासमा दलहरु प्रतिस्पर्धी जस्तै देखिए । स्वेच्छाचारीतालाई बढाउदै लग्न थाले । जस्तो सुकै भ्रष्टाचार, जस्तोसुकै अपराधमा आफ्नालाई बचाउन र पराईलाई फसाउनमा शक्तिशाली भनिएका सरकारहरु लाग्न थाले । यी उल्लेखीत पक्षका केहि जनतामा निराशा र केहिमा आक्रोश उत्पन्न हुँदै गएको थियो भने बेलुनमा भरिएको हावा जस्तो अवस्थामा रहेका जनता कुन बेला बिस्पोष्ट हुने हो भन्ने अवस्थामा थिए । नभन्दै दुई तिहाईको शक्तिशाली सरकारको मुटुमै प्रहार गर्ने गरि भाद्र २३ र २४ गते २९ घण्टे जेन जी आन्दोलनले त्यो दम्भ र घमण्डलाई छिनभरमै शुन्यमा झार्ने अवस्थामा पुर्‍याइदियो । प्रमुख सुरक्षा घेरामा रहेका राष्ट्रपति, प्रधानमन्त्री ज्यान बचाउनका लागि भागेर सेनाको क्याम्पमा जानुपर्ने स्थिती उत्पन्न भयो । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगाएतका कार्यालय, उद्योग व्यवसाय, सार्वजनिक नीजि सम्पत्ती आगजनी र तोडफोड यस आन्दोलनको सबै भन्दा विकृत्तरुप भएता पनि राजनीतिक दल र तीनका नेतृत्वको कानमा भने खतराको घण्टी भने बझाउन यो आन्दोलन सफल भएकै देखिन्छ । अब परम्परा र बेथितीमा रमाउने प्रवृत्तीको अन्त्य यस आन्दोलनले गराएको देखिन्छ ।

जेन जी युवा बिद्रोह र अबको यात्रा : यस अगाडिको देशमा घटेका सबै आन्दोलन, दश वर्षे जनयुद्धलाई बिर्साउने गरी भएको जेन जी युवा बिद्रोह देशकै मुटुमै प्रहार गर्न सक्ने, यथास्थितीमै केहि आसेपासेको सल्लाहमा कुम्भकर्ण झै निदाएका राजनीतिक दल, उच्च पदस्थ व्यक्तिलाई बिउझाउने गरि फेरि कहिल्यै निदाउन नसक्ने गरि गरिएको अप्रत्यासित, अकल्पनीय बिद्रोह हो । आन्दोलन र भिडले संविधानका शब्द पढ्दैन्, कानुनका अक्षर जान्दैन् भने झै केही विध्संतात्मक कार्य भएता पनि यस आन्दोलनले अबलम्वन गरेको उद्देश्य पूर्ति गर्नु अनिवार्य सर्त रहेको देखिन्छ । मात्रै एक थान सरकार बनाउन, फेरि एउटा चुनाव गराउन र फेरि परम्परावादीलाई अवसर र रमाउने वातावरण तयार गर्न मात्रै यो बिद्रोह भएको हो भन्ने प्रमाणित हुनुहुदैन् । बर्षौको बेथिती अन्त्य हुनुपर्दछ, आन्तरिक र बाÞयरुपमा देश बलियो हुनुपर्दछ, देश भित्र एकता कायम हुनुपर्दछ, जनताको अवस्था र दैपनकीमा सुधार हुनुपर्दछ । देश आर्थिक रुपमा बलियो बन्दै जाने आधारहरुको खोजी गर्नु पर्दछ । यसतर्फ युवा नेतृत्वले ध्यान दिन जरुरी देखिन्छ ।
जेनजी युवाको नाममा भएको विद्रोह नेपालको इतिहासमै फरक र कहाली लाग्दो बिद्रोह हो । यसलाई कम आकलन गर्ने कार्य नेपालका राजनीतिक दलले गर्नु हुँदैन् । व्यक्तिगत इगो र अहमतालाई प्राथमिकतामा राखेर देशमा द्वन्द्वको आगो सल्काउनु हुँदैन् भने जनतामा युवा बिद्रोहबाट उत्पन्न परिस्थितीले जनतामा उत्पन्न निराशामा केहि आशाका किरणहरु देखाउन सफल हुनु पर्दछ । बढ्दो करको भारमा कटौती, राजनीतिक नियुक्तिका नाममा असक्षम जाने बाटो बन्द हुनुपर्दछ, सक्षम नियुक्ति हुने आधार तय हुनुपर्दछ । तीन तहका सरकारका नाममा बढ्दो आर्थिक व्ययभार अन्त्य हुनुपर्दछ । राज्यको संरचनालाई मितव्ययी बनाउनेतर्फ लाग्नु पर्दछ । पेशामा रुपान्तरण हुँदै गएको राजनीतिलाई सेवामा परिणत गर्नुपर्दछ । देशभित्रै रोजगारी सिर्जनालाई प्राथमिकतामा राखि बढ्दो वैदेशिक रोजगारीको दरलाई कटौती गर्नु पर्दछ । भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर्नु पर्दछ । उच्च पदस्थ कर्मचारी, राजनीतिक नेतृत्व, मन्त्री लगायत सबै विशिष्टलाई छानविनको दायरामा ल्याउनु पर्दछ । तर यी पक्षहरुमा सरकारले कदम चालेर जनतालाई आशावादी बनाउन सकेको देखिदैन् । संविधानका निर्जीव शब्द र फाल्गुणको चुनावलाई देखाएर यो सरकार पनि भाग्न खोजेको देखिन्छ । यसो भएमा यो युवा विद्रोह पनि विगतमा जस्तै जनतामा आशा जगाउन नसक्ने देखिन्छ ।

निष्कर्ष : जहानीया राणा साशनको अन्त्य हुँदै वर्तमान जेनजी आन्दोलनसम्म आई पुग्दा जुन उद्देश्यले यी  आन्दोलन र बिद्रोहहरु भएका थिए ती सबै असफल जस्तो देखिन्छन् । अहिलेसम्मको विश्लेषणमा जेनजी आन्दोलन पनि यहि दिशा लिएको हो की ? आशंका उत्पन्न भएको छ । कुनै एक व्यक्तिको स्वार्थ परिपूर्ती गर्न, सरकार बनाउन मात्रै यस्ता विध्संकारी बिद्रोहको उद्देश्य बनाइएको मात्र हो भने यो देशका लागि धेरै वर्ष पछाडी धक्केलदिने आधार मात्रै खडा गर्दछ ।  न त यी आन्दोलन, बिद्रोह र प्रर्दशनले जनताका लागि आशा दिन सक्छन् न त देश विकास र समृद्धि नै । जनतामा उत्पन्न आशा र कल्पनालाई निराशामा परिणत गर्ने यस्ता कुनै बिद्रोह देशका लागि आघात बाहेक अरु केहि हुने देखिदैन् । त्यसैले देश भित्रका सबै नागरिक, कर्मचारीतन्त्र, राजनीतिक नेतृत्वले स्वार्थ र अहंम्ता त्यागी देशहित मात्र सोचेर योजना, निर्णय र कार्य गर्न सकेमा आगामी दिनमा जनताले यस्ता अशान्ती र बिद्रोह देख्न पर्ने थिएन् भने बढ्दो निराशाहरु आशामा परिणत हुने थिए की ? (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।) 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update