Shittalpati
किवी खेतीमा कालिगण्डकीका युवाको आकर्षण

गुल्मी (सिरकोट), पछिल्लो समय गाउँबाट बसाइँसराइ गरी बजार झर्नेको संख्या निकै ठूलो छ । सेवा सुविधा खोज्दै स्थानीय सहर बजारतिर झर्न थालेसँगै गाउँ सुनसान बन्दै गएका छन् । गाउँमा भएका युवा पनि विदेश पलायन भइरहेका छन् । बसाइँसराइ र विदेश पलायनले गर्दागाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, गुल्मीको कालिगण्डकीगाउँपालिका–२ का केही युवाहरु  भने व्यावसायिक किवि खेतीमा लागेका छन् ।

कालीगण्डकी गाउँपालिका–१ सिरकोटमा वर्षौदेखि बाँझिएको जग्गालाई सदुपयोग गर्दै २३ जना युवाले मिलेर पाँच सय ४० रोपनी क्षेत्रफलमा ब्यावसायिक रुपमा किवी खेती गरेका हुन् । २०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ । गत वर्ष किवीबाट १२ लाख आम्दानी गरेका कृषकहहरुले यस वर्ष २० लाख बढीको बिक्री गर्ने लक्ष्य लिएको कृषक लक्ष्मीपति न्यौपानेले बताए । किवी खेतीलाई ब्यावसायिक रुपमा अगाडि बढाउन र यसैबाट राम्रो आम्दामी गर्नका लागि आफूहरुले हरदम प्रयास गरेको उनको भनाइ छ । स्वादिलो, धेरै पौष्टिक तत्व पाइने र स्वस्थ्यकर मानिने किवीको बजारमा माग र खपत बढेको कृषक न्यौपानेले बताए । “भिटामिन सीलगायत पौष्टिक तत्व पाइने किवी मधुमेह, उच्च रक्ताचाप रोगका बिरामीका लागि लाभदायक मानिन्छ,” उनले भने “राम्रो भयो भने एकै रोपनीमा चार लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।”  मेहनत गरे उत्पादन राम्रै हुने अर्का कृषक चन्द्रकला पाण्डेले बताइन् । उनले भनिन् “गत वर्ष सरदरप्रति किलो तीन सयदरले किवि विक्री गरियो ।” किवी गाउँबाटै पनि बिक्री भएको र गाउँबाट बिक्री हुन नसकेको किवी बुटवलमा लगेर बिक्री गरेको उनले बताइन् । पहिले सिचाँइका लागि पानीको अभाव भएको बताउँदै यस वर्ष पोखरी बने पछि उत्पादन बढ्नेमा आफूहरु ढुक्क रहेको उनले बताइन् । यहाँ १० लाख लागतमा जलस्रोत तथा सिचाँइ विकास डिभिजन कार्यालय गुल्मीले ६५ हजार लिटर क्षमताको दुई वटा पोखरी निर्माण गरिदिएको छ ।

वर्षौँदेखि बाँझिएर खेर गइरहेको जग्गालाई सदुपयोग गरी किवी खेती गरिएको छ । आफूहरुले देशका विभिन्न स्थानमा गरिएको किवीखेतीको बारेमा अध्ययन अवलोकन गरी सिरकोटमा पनि सम्भावना देखेर किवी खेती गर्ने आँट आएको कृषकहरु बताउँछन् । आफूहरुले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानहरुबाट कृषक समूह, सहकारीहरु आउने गरेको र आफूहरुले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदान प्रदान गर्ने गरेको उनीहरुको भनाई छ । अनुकूल भूगोल, हावापानी, उच्च बजार मूल्यका कारण यहाँका कृषक पछिल्लो समय व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि कृषक किवीखेतीमा लागेका हुन् । किवीबाट एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिन्छ । जिल्लामा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिर्दै आइएको छ । यहाँका कालीगण्डकी, सत्यवती, रेसुङ्गा र धुर्कोटमा व्यावसायिक रुपमा किवी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update