Shittalpati
मेवा बिक्रीबाट आम्दानी गर्दैै सहकारी

दाङ, घोराहीको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएको छ । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ ।

सहकारीले ९ कट्ठा जग्गा भाडामा लिएर विगत ३ वर्षअघि देखि व्यावसायिक रुपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो । उक्त जग्गाको वार्षिक  ३६ हजार रुपैयाँ भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताए । सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट ५० हजार रुपैयाँ र पाकेको फल बिक्री गरेर २ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताए । मेवा बिक्रीबाट आएको मुनाफालाई शेयर सदस्यलाई दिने गरिएको उनी बताउँछन् ।

सुरुमा १० पोकाबाट मेवाका बिरुवा उत्पादन गरिएको थियो । त्यसमा २५० बिरुवा सहकारीबाट लगाइएको उनको भनाइ छ । १ पोका बीउलाई  ८ हजार ५०० रुपैयाँ पर्ने गरेको उनी बताउँछन् । प्रत्येक पोकाबाट ४०० बिरुवा उत्पादन हुने गरेको उनीसँग अनुभव रहेको छ । मेवाको बिरुवा ५ भन्दा बढी लैजानेलाई  १०० रुपैयाँका दरले र त्योभन्दा कम लैजानलाई  १५० रुपैयाँका दरले बिक्री गर्ने गरेको संस्थाका व्यवस्थापक चौधरीले बताए।

मेवाको फल र बिरुवा पनि राम्रौ बिक्री हुने गरेको उनी बताउँछन् । सहकारी संस्थामार्फत आम्दानी गर्न पाउँदा सबै शेयर सदस्य खुसी भएको उनी बताउँछन् । कुनै पनि आयआर्जन हुने काममा जोडिएपछि आम्दानी बढ्दै जाने उनको भनाइ छ । भोलिका दिन व्यवसायलाई अझ बढाउँदै लैजाने उनी बताउँछन् ।

यसअघि ‘रेमिट्यान्स’ सेवामार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेको थियो । सोही क्रममा सहकारीले धान खरिद गरी चामल बिक्रीबाट पनि गत वर्ष  डेढ लाख रुपैयाँ आम्दानी गरेको थियो । ३५० सदस्य रहेको बलिदान कृषि सहकारीको  डेढ करोड रुपैयाँ पुँजी रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update