
गलकोट (बागलुङ), बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती । यसैबाट गाउँमै सम्भावना खोजिरहेका छन्, रघुनाथ पौडेल ।
उमेरले ६२ वर्ष पुगेका पौडेल र उनका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाईभैँसीको स्याहार र दूध व्यवस्थापनमा व्यस्त छन् । गाईभैँसीपालन, तिनको मलबाट व्यावसायिक घाँसखेती गर्दै आएका पौडेल परिवारसँग प्लाष्टिक टर्नेलदेखि तोरी पेल्ने र कुटानी–पिसानी गर्ने मिलसमेत छ । बाउछोरा मिलेर पाँच वर्षयता दूध र मह उत्पादन गर्दै आएका छन् । गाउँमा बसाइँसराइले बाँदर आतङ्क भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थालेको छ । परम्परागत कृषिकर्म गरेर छोराछोरीलाई हुर्काएका रघुनाथ भने छोराकै साथले कृषि र पशुपालन कर्मलाई व्यावसायिक बनाइराखेका छन् । “गाउँ रित्तियो, सम्पत्ति भएका त सहरबजार सरे, हामी बाउछोरा यही गाउँमा केही गर्नुपर्छ भनेर लागेका छौँ”, बुबा रघुनाथले भने, “हाल छवटा मुर्रा भैँसी र तीनवटा गाईपालन गरेका छौँ । आँगनमा ३० वटा मौरीका घार छन्, दुई प्लाष्टिक टनेल, १० रोपनी जग्गामा घाँसखेती र तेल पेल्ने र कुटानी–पिसानी गर्ने मिल छ । यीमध्ये मासिक एक लाख २० हजार त दूध बिक्रीबाटै कमाइन्छ ।” गाईभैँसी र पाडापाडीका लागि आवश्यक अन्न कुट्न र पिस्नका लागि घरमै कुटानी–पिसानी मिल सञ्चालन गरिरहेको उनले सुनाए ।
पाँच वर्षअघिसम्म चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आएका ३३ वर्षीय छोरा राजनलाई गाउँका अन्य युवा जस्तै विदेश हिँड्न मन लागेको छैन, बरु गाउँमै व्यावसायिक कृषक बन्ने सोच आएको छ । बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने सोचका साथ काममा खटिएको उनको भनाइ छ । “हाल दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँदै आएका छौँ । छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म स्थापना गरेर कृषि र पशुलापन गर्दै आएका छौँ । यसले पाडापाठीको संरक्षण र आम्दानी दुवै भइहेको छ, यसैमा खुसी छु”, राजनले भने । हाल फार्ममा छ पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै गरेका छन् । यी सबै हुर्किए र उत्पादान सुरु भएमा थप व्यवसाय विकासमा योगदान पुग्ने उनको विश्वास छ । बाँदरको आतङ्कपछि स्थानीयले खेतमा बाली लगाउन छाडेका छन् । त्यसैले पौडेल बाउछोराले १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गरेका छन् । यसबाहेक वार्षिक डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको राजनले जानकारी दिए ।