Shittalpati
उद्योग स्थापनापछि उखु किसानको जीवन सुधार

तम्घास, गुल्मीको रूरूक्षेत्र गाउँपालिका–३ थोर्गा पानीट्याङ्कीका गोविन्द ज्ञवालीको पुख्र्यौली पेसा थियो उखुखेती । उनले उखुबाट खुदो र गुड बेचेरै आम्दानी गरिरहेका छन् । ज्ञवालीले ढाई रोपनी जग्गामा गरेको उखु खेतीबाट वार्षिक ५८ हजार आम्दानी गर्दै आएका छन् । उखु खेती बाहेक परिवार अन्य कृषि पेशामा आवद्ध छ भने गोविन्दले गाउँमै स्थापना भएको गुड खुदो उद्योगमा काम गछैन् । केही उखु बीउको लागि पनि राखेको राम्रो आम्दानी भइरहेकाले विदेश जाने कुनै योजना नभएको गोविन्द बताए । 

रूरूक्षेत्रमा गोविन्दजस्तै उखु खेतीबाट धेरैले मनग्य आम्दानी गरिरहेका छन् । रूरूक्षेत्र गाउँपालिका उखु खेतीको लागि प्रख्यात मानिन्छ । पालिकाभरी करिब तीन हजार रोपनीमा अहिले उखु खेती भइरहेको छ । पछिल्लो समय उखुको उचित मूल्य र बजारीकरणका लागि पालिकाले वडा नं ४ मा ‘थोग्रेली गुड खुदो उद्योग’ स्थापना गरेको छ । जसबाट स्थानीयले एकातर्फ उखुको झण्डै दोब्बर मूल्य पाएका छन् भने अर्कोतर्फ गाउँमै रोजगारी समेत सिर्जना भएको छ । उद्योगबाट उखुको रसबाट गुड, खुदो र मिठाइ उत्पादन हुदैँ आएको छ । जसले गर्दा उखु किसानको जीवनस्तर नै फेरिएको छ । उखु किसानलाई एकीकृत गरी उद्योग स्थापना गर्नको लागि रूरू बहुउदेश्यीय सहकारी संस्था लिमिटेड गठन भयो । सहकारीमा हाल एक सय १० कृषि आवद्ध छन् । ‘थोग्रेली गुड खुदो उद्योग’ पनि यसै सहकारीमार्फत संचालन भइरहेको छ । उद्योगले अहिले कृषकको बारीमै पुगरे उखु खरिद गर्दछ । उद्योगले गत माघ महिनाभर प्रतिकेजी ११ तथा फागुन महिनादेखि हालसम्म प्रतिकेजी १२ रूपैँयामा उखु खरिद गरिरहेको छ । उद्योगले ल्याएको उखु पेलेर खुदो पकाउने, गुड तथा गुडका मिठाई बनाउने काम गरिरहेको रूरू कृषि परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिए । उद्योगबाट रोजगारी सिर्जना रूरूमा स्थापना भएको उद्योगले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । स्थानीय हरि सेनानीले पहिले दुवैको कम्पनीमा काम गरे । केही सयमअगाडि घर आउनुभएका उहाँले गाउँमै स्थापना भएको उद्योगमा काम पाए । अहिले उनले उखु खुदो पकाउने, गुड बनाउने र प्याकेटिङ्को काम गर्छन् । “विदेशमा अरूको दबाबमा धेरै काम गर्नुपथ्र्यो, यहाँ साथीभाइसँगै काम गर्न पाइएको छ,” उनले भने, “यहाँको उद्योगमा काम गर्दा पारिवारिक वातावरण छ ।” सोही उद्योगमा गुड प्याकेटिङको काम गर्ने सीता पन्थलाई उद्योगमा काम सुरू गरेदेखि दैनिक घरखर्च चलाउन निकै सहज भएको छ । 

काम गरेर मासिक १२ हजार कमाउने उहाँले सहकारीको शेयर सदस्य भएको कारणले काम पाएको बताए । उद्योग स्थापनादेखि नै काम गर्दै आएकी कल्पना राईले पनि अहिले सानोतिनो खर्चको लागि श्रीमान्सँग घरखर्च माग्नु नपरेको बताए । “घरखर्च चलाएकी छु, दुई हजार पैसा पनि साथमा हुने गरेको छ,” उनले भने, “गाउँमै उद्योग स्थापना भए पनि हाम्रो दैनिकी फेरिएको छ ।” उद्योगमा हाल नियमित पाँच जनाले रोजगारी पाएका छन् । काम गर्ने सबै सहकारीका शेयर सदस्य छन् । उहाँहरूको कामको प्रकार हेरिकन मासिक रु १२ हजारदेखि २५ हजारसम्म प्रदान गरिएको छ । यसरी सबै कामदारको मासिक रु दुई लाख सहकारीले भुक्तानी गर्ने प्रबन्धक प्रकाश थापाले बताए । 

चार महिनामै २९ लाखको गुड, खुदो बिक्री
उखुको रसबाट बन्ने परिकार बनाउनको लागि वडा नं ४ मा उद्योग स्थापना भयो । जसमा पालिकाले भवन निर्माणको लागि रु २० लाख र नवप्रभावत युवा सङ्घद्वारा सञ्चालित रूरू कृषि परियोजनाको समन्वयमा हेफर इन्टरनेशनलले रु ५२ लाख लगानी छ । उद्योगले स्थापनाको छोटो समयमै राम्रो आम्दानी गरेको छ । उद्योगले उखुको खरिददेखि गुड, खुदो र मिठाइ उत्पादन गरी बिक्री गर्दछ । उत्पादित गुड, खुदो स्थानीय बजारमै खपत हुन्छ । अहिलेसम्म दुई सय ६५ टन उखु प्रशोधनबाट रु १९ लाखमा ७५ क्विन्टल गुड र १० लाखमा पाँच हजार लिटर खुदो बिक्री भएको सहकारीका प्रबन्धक थापाले बताए । अहिले दैनिक ढाइ क्विन्टल खुदो उत्पादन भइरहेको छ । अहिले पनि १५ हजार लिटर खुदो स्टक रहेको छ । उद्योग स्थापनादेखि हालसम्म दुई सय ६५ टन उखु बिक्रीबाट किसानले ३१ लाख ८० हजार रकम बुझेका छन् । पहिले प्रतिकेजी  सात रूपैँयामा बिक्री हुने उखु अहिले उद्योग स्थापना भएसँगै प्रतिकेजी १२ रूपैँयामा बिक्री भइरहेको छ । उखु बिक्रीबाट सबैभन्दा धेरै गङ्गा पुनले दुई लाख ५० हजार आम्दानी गरेका छन् । “उद्योग स्थापनापछि उखुमा झण्डै दोब्बर मूल्य पाइएको छ,” पुनले भने, “अब बजारको पनि कुनै समस्या छैन ।” रूरूमा हाल रातोकोशेर, थारापाते लगायतका जातका उखु उत्पादन हुने गरेका छन् । लगाएको नौ महिनामा तयार हुने एउटा उखुको घार औषतमा तीन किलो हुने गरेको छ । रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले किसानको आवश्यकतालाई मध्यनजर गरी उद्योग स्थापना गरको बताए । “कृषि र पर्यटनमार्फत रोजगारी सिर्जना गर्नेतर्फ उन्मुख भइरहेका छौँ,” अध्यक्ष ज्ञवालीले भने, “उखु खेती विस्तार गर्नको लागि पालिकाले मल, बीउ र प्रविधिमा सहयोग गरको छ ।” उनले अब बनाउने नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उखुखेती र उद्योगलाई विशेष प्राथमिकता दिने बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update