Shittalpati
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित

पाल्पा, प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैंठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका हुन् ।

बैठकमा सभामुख घिमिरेले सहकारी संस्था बचत रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति तथा विभिन्न विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सभाले सहमति जनाएको थियो । त्यसअघि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सुनाएका थिए ।

बैठकको अन्तिममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षति कारोबार (पहिलो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले सो प्रस्तावलाई  निर्णार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update