पाल्पा, लगातार चार दिनको अविरल वर्षाका कारण जमिन चिरा परेपछि पाल्पाको माथागढी गाउँपालिकाका वडा नंं ४ देवगीर ( खलिपोखरा) बजार पहिरोको उच्च जोखिमका परेको छ । बासटारी–झडेवा–दुम्कीबास बहुप्रदेश सडक अन्तर्गत माथागढी गाउँपालिका वडा नम्बर ४, देवगीर ( खलिपोखरा) बजारको बीच भागबाटै करिब २०० मिटर लामो धाँजा फाँटेको (चिरा) परेपछि सिङ्गो देवगीर बजार पहिरोको उच्च जोखिममा परेको हो ।

देवगीर बजारको विच सडकबाट फाटेको धाँजा १ ईन्च सम्म फराकिलो ५ फिट सम्म गहिराई, रहेको छ स्थलगत अनुगमनमा खटिएका लुम्विनी प्रदेश सांसद खेम बहादुर सारुले बताए । सडकको मध्यभागबाट धाँजा फाटेपछि देवगीर बजार र आसपासका करीव ३० घरपरिवार पूर्ण रुपमा प्रभावित भएका छन । धाँजा फाटेको सडकको दक्षिणतर्फका घरपरिवार बढी प्रभावित बनेका छन् । धाँजा फाटेका कारण बालकृष्ण न्यौपाने, महेन्द्र केसी, केशरजंग श्रेष्ठ, अर्जुन श्रेष्ठ, लगायतका घरहरू चर्किएको छ भने सडक समेत तल दबिएको छ । सडक चिरा परेपछि बर्षातको सयममा स्थानीयवासीले प्लाष्टिक त्रिपाल तथा राखेर धाँजा फाटेको स्थानमा पानी पस्नबाट जोगाउने प्रयास गरेका थिए ।
जमिन फाटेर बस्ती नै खतरामा परेपछि प्रदेश सांसद, गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा प्राविधिक इन्जिनियरहरूको टोलीले देवगीर क्षेत्रको स्थलगत अध्ययन तथा अवलोकन गरेको छ । संयुक्त अवलोकन पछि प्रदेस सांसद पुर्व स्वास्थ्यमन्त्री खेम बहादुर सारुले उक्त क्षेत्र अति जोखिमयुक्त रहेकाले भूगर्भविदहरु मार्फत वैज्ञानिक अध्ययन गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।

भूगर्भविद्को अध्ययन प्रतिवेदन नआउन्जेलसम्मका लागि सो सडक खण्डमा ठूला सवारी साधन चलाउदा जोखिम बढ्ने भएकोले, ठूला तथा भारी सवारी साधन संचालन रोक लगाएको र साना तथा हलुका सवारी साधन मात्र सञ्चालन गर्न निर्णय गाउँपालिकाले गरेको पालिका अध्यक्ष यम बहादुर चिदीले बताए । स्थलगत निरीक्षणमा पुगेका सडक पुर्वाधार विकास कार्यालय पाल्पाका इन्जिनियर तेजप्रसाद अधिकारीले नाङ्गो आँखाले हेर्दा नै सो क्षेत्र अत्यन्त जोखिमपूर्ण देखिएको बताए । “हामीले प्रारम्भिक हेराइमा सो क्षेत्र जोखिमयुक्त नै पाएका छौँ, तर वास्तविक प्राविधिक अवस्था भने भूगर्भविद्को विस्तृत अध्ययनपछि मात्र स्पष्ट हुनेछ,“ इन्जिनियर अधिकारीले बताए । देवगीर क्षेत्रमा यसअघि वि.सं. २०७८ सालमा पनि सडक चर्किएको र धाँजा फाटेको थियो । तर, तत्कालीन समयमा भूगर्भविद्को सल्लाह र अध्ययनविना नै सडक टालटुल, प्लास्टर र ढलाई गरेर पुनः यातायात सञ्चालन गरिएको थियो । भुगर्वविदको प्राविधिक अध्ययनविना पुनः टालटुल गरेर सडक संचालन गरेका भविष्यमा थप ठूलो क्षति हुन सक्ने ईन्जिनियर अधिकारीले बताए ।
वडा नम्बर ३ मा पनि जमिन फाटेर १० घर धरापमा
यसैगरी, माथागढी गाउँपालिका वडा नम्बर ३ स्थित कसेनी–सराई–भैसकट्टा क्षेत्रमा पनि अविरल वर्षाकै कारण करिब ७५ मिटर लम्बाइमा जमिन चिरा परेको छ । जमिन फाटेपछि सो क्षेत्रका करिब १० घरपरिवार धरापमा परेका र यसै गरी वडा नं. ३ कै सिकारकोट डुमिरडाडा बस्ती क्षेत्रमा जमिन चिरा चिरा परेको वडा अध्यक्ष तेजबहादुर घर्तीमगरले बताए ।
सडक र वरपरको जमिनमा लगातार परेको चिराका कारण स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्। वर्षा जारी रहेमा र जमिन थप भासिएमा ठूलो जनधनको क्षति हुन सक्ने भन्दै स्थानीयवासीले सुरक्षित स्थानतर्फ स्थानान्तरण र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।
.jpg)


