पाल्पा, जिल्लाको तानसेन र बगनासकाली गाउँपालिकाका अगुवा कृषकलाई परागसेचन सम्बन्धी तालिम दिइएको छ । हर्ड इन्टरनेशन सहित ५ वटा साझेदार संस्थाहरूको सहयोगमा सञ्चालित नेपाल परागसेचन परियोजना पाल्पाको आयोजनामा अगुवा कृषकहरुलाई परागसेचनका विषयमा एकहप्ते प्रशिक्षक प्रशिक्षण तालिम दिएको हो ।
परागसेन कार्यक्रम तानसेन नगरपालिकाको वडा नं. १, ८ र ११ र बगनासकाली गाउँपालिकाको वडा नं. ३ र ६ मा सञ्चालनमा रहेको छ । परियोजनाले पाल्पामा परागसेचनको अवस्थामा सुधार र दिगो कृषि र जैविक विविधतालाई संरक्षण गर्ने उद्देश्य राखी सन् २०२६ देखी २०२९ सम्म काम गर्ने छ । परियोजनाले ५ वटा वडामा परागसेचन वाहक मौरी, कृषिवालीमा सुन्तला, तोरी र काँक्रोमा परागसेनको अवस्थाको बारेमा पूर्ण रुपमा अनुसन्धानको रुपमा काम शुरु गरेको छ । परियोजनाले कार्यक्रममा सहभागी अगुवा कृषकहरुलाई परागसेचनको महत्व, हालको अवस्था, परागसेचनले मानव स्वास्थ्य र पोषणमा पु¥याएको फाईदा, मानव जीवनमा पोषणको महत्वको बारेमा एक हप्ते प्रशिक्षक प्रशिक्षण दिएको छ । तालिममा अगुवा कृषकहरुलाई सुन्तला खेतीको लागि नर्सरी व्यबस्थापन, फुल फूल्ने अवस्थादेखी उत्पादनलाई बजार पु¥याउने अवस्था सम्मका विषय बस्तुलाई केन्द्रित गरेर तालिम सञ्चालन गरिएको परियोजना संयोजक कृषि अधिकृत केदार नेपालले बताए । तालिममा परागसेचनमा महत्वपूर्ण भुमिका खेल्दै आएका मौरी, भमरा, तथा पुतलीको विविध विषय र अवस्थाको, मानिसको लागि नभई नहुने पोषण, तथा कृषक आईपिएम पाठशालाको बारेमा अगुवा कृषकहरुलाई प्रशिक्षण गरिएको परियोजनाले प्रमुख नेपालले बताए । तालिममा सुन्तला जात फलफूल विकास केन्द्र पाल्पाका प्रमुख जोगेन्द्र कान्दु, बागवानी विकास अधिकृत,सुदिप देवकोटा, वाली संरक्षण अधिकृत सुरज भारतीले सुन्तला खेतीमा परागसेचनको महत्व, पूर्ण परागसेचनबाट उत्पादनमा हुने बृद्धि लगायतका विषयमा प्रशिक्षण दिएका थिए । एकहप्ते प्रशिक्षक प्रशिक्षण तालिममा लिवर्डका कृषि अधिकृत अनुपम उप्रेती, लाल कुमार जिरेल र सिर्जना खड्का लगायतले सहजीकरण गर्दै बालीनाली, खेतीपातीमा पूर्ण रुपमा परागसेचन नहुँदा मानव जीवन तथा पोषणमा आईपरेका समस्याहरुको बारेमा जानकारी गराएका थिए ।
तालिम प्रभावकारी भएको अगुवा कृषकहरुले बताएका छन् । तालिम पछि गाउँ–गाउँमा परागसेचनको महत्वबारेमा टोल बस्तीमा छलफल चलाउने तालिममा सहभागी कृषकहरुले बताएका छन् । परागसेचनको महत्व र अवस्थालाई नबुझिकन परम्परागत रुपमा कृषकहरुले खेतीपाती गर्दै आएको अवस्थामा तालिम पछि परागसेचनको महत्व प्रष्ट रुपमा बुझिएको तालिममा सहभागी बगनासकाली गाउँपालिका वडा नं. ६ का अगुवा कृषक तारा प्रसाद बस्यालले बताए । पछिल्लो समय मौरी, भमरा, पुतली जस्ता प्राकृतिक परागसेचकहरूको संख्यामा तीव्र गिरावट आइरहेको छ । खेतीपातीमा रासायनिक विषादीको अनियन्त्रित प्रयोगले परागसेचक कीराहरू मौरी, भमरा र पुतली जस्ता प्राकृतिक किराहरु मर्दै गएका छन् । वन फँडानी, आगलागी, बाढी पहिरो र अव्यवस्थित सहरीकरणका कारण यस्ता जीवहरूको प्राकृतिक बासस्थान नासिदै गएको छ । जलवायु परिवर्तनका कारण तापक्रममा भएको वृद्धि र वर्षाको अनिश्चित चक्रले परागसेचकहरूको जीवनचक्र र फूल फुल्ने समयबीचको तालमेल विग्रिएको छ । विग्रिएको परम्परागत परागसेचन प्रक्रियामा अध्ययन अनुसन्धानबाट ठोस कुरा पत्ता लगाउन परियोजनाले पाल्पाको ५ वटा वडामा काम गरेको जनाएको छ ।


