काठमाडौँ, पाल्पा क्षेत्र नम्वर १ का सांसद सन्दीप रानालाई काठमाडौंमा सम्मान गरिएको छ । नेपाली कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिले उनलाई एक कार्यक्रमकाबिच सम्मान गरेको हो । सांसद रानालाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका महामन्त्री प्रदीप पौडेलले सम्मान गरेका हुन् । उनलाई बधाई दिँदै महामन्त्री पौडेलले कांग्रेसका सांसदहरूको जिम्मेवारी अहिले अझ धेरै रहेको स्मरण गराए । उनले भने, “झण्डै दुई तिहाइको सरकार छ, त्यसले कतिपय गलत कामलाई पनि संख्याको बलमा जबरजस्ती गर्न सक्छ । त्यसको डटेर सामना गर्नु पर्दछ, जनतालाई बुझाउन सक्नु पर्दछ । त्यसका लागि म सन्दीपजीलाई सक्रिय, अनुकरणीय र देखिने भूमिकाका लागि शुभकामना व्यक्त गर्दछु ।” उनले सुकुम्बासी बस्तीमा डोजर लगाइएको विषय पर्याप्त समय र सूचना नदिई गरिएको भन्दै मानवीय र व्यवहारिक नभएको टिप्पणी गरे । महामन्त्री पौडेलले सुकुम्वासी बस्तीमा सुकुम्बासी नै थिएनन्, हुकुम्वासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर पुनस्र्थापनाको विकल्प तयार पारेपछि मात्रै हटाउनु पर्नेमा जोड दिए । उनले संवैधानिक परिषद्लाई सर्वपक्षीय र सन्तुलित बनाउनु पर्ने राज्यको आधारभूत मर्मभित्रको विषय भएकाले एकपक्षीय हुनेगरी पुनर्संरचना गर्नु गलत भएको तर्क गरे । लोकतान्त्रिक मूल्य–मान्यता र राज्यका आधारभूत मर्मलाई खलबल्याउन नपाइनेतर्फ सरकारको उनले ध्यानाकर्षण गराए ।
कार्यक्रममा काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले झण्डै दुई तिहाइको सरकारलाई खबरदारी गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझ बलियो र चुस्त हुनुपर्ने आवश्यकता औंल्याउँदै अब पार्टीलाई एकताबद्ध बनाएर लैजान नेतृत्वले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अदालत, निर्वाचन आयोगजस्ता निकायले काँग्रेसको विवाद निरुपण गरिसकेकाले अब पार्टीभित्र विवाद गर्नुको औचित्य नरहेको उनको भनाइ थियो । कार्यक्रममा सम्मानित सांसद रानाले आफू निर्वाचित हुनुमा लामो समयदेखि पार्टीमा योगदान गरेका अग्रजहरूको ठूलो भूमिका रहेको बताउँदै उनीहरूप्रति आभार व्यक्त गरे । उनले आफ्नो जित व्यक्तिगत नभई समग्र पाल्पालीको जित भएकाले पाल्पा र देशको विकास तथा राम्रो नीति निर्माणका पक्षमा आफ्नो क्षमताले भ्याएसम्म सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार भएका पाल्पाका नेताद्वय कृष्णप्रसाद अधिकारी र जमिला मियाँले पार्टीको समानुपातिकतर्फको मत कम भएकाले आफूहरू निर्वाचित हुन नपाए पनि प्रत्यक्ष निर्वाचित रानाको जितले आफूहरूलाई सन्तुष्टि र गौरव महसुस गराएको अनुभव सुनाए । सम्पर्क समितिकी अध्यक्ष विमला बस्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

